अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

टेक्सस जाने दाइ ‘नेजालाई’ यी कुरा सोधिदिनु है

विष्णुहरि घिमिरे

विष्णुहरि घिमिरे २०७६ वैशाख २० गते ९:१३ मा प्रकाशित

सबै भन्दा बलवान समय रहेछ । समय कहिलेकाहीँ निष्ठुरी बनिदिने रहेछ । खासमा म यतिखेर टेक्ससका लागि रमाना भइसक्नु पर्ने हो । तर समयले बन्दी बनायो, नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको अधिवेशनमा भौतिकरुपमा उपस्थित हुन सकिन ।

पेसाकर्मीहरूसँग सँगै टेक्सस सहर घुम्ने रहर अधुरै रह्यो । केही नयाँ साथी बनाउने र पुराना सँग पुनर्मिलन हुने अवसर छुट्यो । माथि पनि भने समय बलमान हुँदो रहेछ भनेर । आफू स्वशरिर उपस्थित हुन नसके पनि नेजाको साधारण सभा सफलताको शुभ कामना ।

नेजाको साधारण सभालाई यस कारण पनि शुभ कामना दिनु पर्छ कि अहिलेको साधारण सभाका जो कन्भेनर छन्, उनी एक वर्ष अगाडि सम्म नेजा बहिष्कारवादी हुन् । लसएन्जलसमा सम्पन्न नेजाको साधारण सभामा रातारात विधान परिवर्तन गर्ने सपना चकनाचुर भए पछि, नेजाका वर्तमान उपाध्यक्ष विकासराज न्यौपाने, टेक्सस क्षेत्रीय संयोजक रामचन्द्र भट्ट समूह लगभग दुई वर्ष नेजा बहिष्कार अभियान थिए । उनीहरूले दुई वर्ष सम्म नेजाको कार्यक्रम मात्र होइन समाचार नै ब्याक आउट गरे । सियाटलमा ‘पद’ पाउने पक्का भए पछि मात्र नेजा भित्रिएका हुन् । 

आफू पदमा भए सबै ठिक नभए सबै बेठिक भन्ने भ्रममा रहेका नै अहिले साधारण सभा कन्भेनर र हर्ताकर्ता छन् । संस्थामा व्यक्ति आउने जाने भइनै रहन्छ त्यो ठुलो कुरा होइन । मुख्य कुरा संस्थालाई बदनाम बनाउन हुँदैन । आफू पदमा नहुँदैमा त्यो संस्था बहिष्कार गर्न हुँदैन । तर पदाधिकारीलाई खबरदारी भने गर्दै गर्नु पर्छ । म अहिले जे लेख्दै छु खासमा आफै बन्दशत्रमा उपस्थित भएर उठाउन पर्ने थियो त्यो हुन नसकेकोमा माफी चाहन्छु । हुन त अहिले सम्म नेजाले पठाएको आधिकारिक इमेलमा बन्दशत्र मध्यरातमा राखिएको छ ।

छुट्टी मनाउन गएका पत्रकारको बन्दशत्र राती दश बजे पछिको बन्दशत्र, त्यहाँको स्थिति बारेमा म अहिले कल्पना मात्र गर्न सक्छु । मध्यरातमा बन्दशत्र राख्नुको अर्थ के हुन्छ ? महासचिव किरण मरहठ्ठाले एजेन्डा खासै नभएकाले बन्दशत्रलाई रातीमा राखिएको प्रतिक्रिया दिएका छन् ।

नेजाको विधानले बन्दशत्रमा उपस्थितको बहुमतको निर्णयलाई वैधानिकता दिन्छ । राती बन्दशत्र राख्नुको कारण सदस्यहरू ‘वार’ वा बिस्तारामा गए पछि उपस्थित पदाधिकारीले आफूखुसी निर्णय गराउने प्रपञ्च नहोस् । यही साधारण सभाको मिति तोक्दा टेक्सस समूहले विधान भन्दा चुनावी साधारण सभा मागेको सार्वजनिक भइसकेको छ । मध्यरातमा उपस्थित मध्येको बहुमतले कुनै अप्रिय निर्णय नगरोस ।

बन्दशत्रमा प्रस्तुत हुने महासचिव र कोषाध्यक्षको प्रतिवेदन अहिले सम्म साधारण सदस्यलाई प्राप्त भएको छैन । अघिल्लो कार्यसमितिले कम्तीमा एक दिन अगाडि नै इमेल मार्फत उपलब्ध गराएको थियो । त्यसले सदस्यहरूलाई अध्ययनको समय मिल्ने गर्दछ । अमेरिकामा रहेका प्राय: नेपाली संस्थाको हरहिसाव गोलमटोल हुने गरेको आरोप लागेको छ । पत्रकारहरूको संस्था पनि अछुतो छैन । आम्दानी खर्चको सही विवरण दिन कन्ज्युस्याई हुने गर्दछ ।

त्यसो त भर्जिनिया साधारण सभामा संशोधित नेजाको विधान र आर्थिक नियमावली अनुसार हरेक तीन तीन महिनामा आर्थिक विवरण हरेक साधारण सदस्यहरूलाई पठाउनु पर्ने हुन्छ तर अहिले सम्म यो कार्य समितिले त्यो कार्यन्वयन गरेको छैन ।

अध्यक्षको पहिलो घोषणा नै अलपत्र
साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन, विधान अनुसार तीन तीन महिनामा आर्थिक प्रगति विवरण तोकिएको समयमा साधारण सदस्यलाई उपलब्ध गराउनु त परको कुरा अध्यक्ष सुदिप पन्तले निर्वाचन पछि आफ्नो पहिलो प्रतिबद्धतालाई पनि अहिले सम्म पुरा गराउन सकेका छैनन् ।

सियाटलमा अध्यक्षमा निर्वाचित भए पछि उनले आफ्नो पहिलो विजयी सम्बोधनमा अब देखि नेजालाई खुल्ला राख्ने कुनै घोषणा गरेका थिए । उनले नेजाको हरेक बैठकमा सबै सदस्यलाई आमन्त्रण गरिने घोषणा गरेका थिए । ” हामी सबै कुरामा पारदर्शी हुन्छौ, हाम्रो कुनै गोप्य निर्णय हुँदैन, जे हुन्छ खुला हुन्छ, हामी सबै साधारण सदस्यलाई बैठकको बारेमा सूचना र कन्फरेशन कल नम्बर दिन्छौ, तपाइहरू जो जसलाई इच्छा लाग्छ बैठकमा आउन सक्नु हुन्छ । तपाईँहरूको उपस्थिति पर्वेक्षकको रूपमा हुने छ तपाइहरूले राय दिन पाउनु हुन्छ तर मत दिन पाउनु हुने छैन ।’

निर्वाचन पछिको पहिलो सम्बोधनमा ताली खाएका पन्तले अहिले सम्म कति वटा बैठक गराए र कुन कुन बैठकमा उनले घोषणा गरे अनुसारको काम गरे ? सोही समयको भाषणकै क्रममा उनले आपतकालिन अवस्थामा पत्रकाहरुको सहयोगार्थ दश हजार डलरको राहत कोष स्थापना गर्ने घोषणा गरेका थिए । त्यो घोषणा उनले सम्झरहेका छन् कि बिर्सिए ? सो कुराको प्रतिक्रिया लिन दिनभरमा चारपटकको टेलिफोन र केही टेक्स म्यासेजको प्रयास सफल हुन सकेन ।

जालसाझीलाई वैधानिकता ?
सियाटल अधिवेशनमा भनेको पद नपाएको भए उपाध्यक्ष विकासराज र क्षेत्रीय संयोजक रामचन्द्र अहिले सम्म नेजामा नै रहन्थे की नेजाबाट छुट्टिएको इन्जामा पुग्ने थिए भन्न गाह्रो छ । एक तीर नयाँ संस्था खोल्न तम्सेकाहरुलाई उकेसो लगाउने अर्को तर्फ सियाटलमा पदको बार्गेनिङ । अब त्यो विषय धेरै नकोट्याउ । तर सियाटल अधिवेशनमा निर्वाचन आयोगका संयोजक तारा बरालबाट भएको जालसाझीको बारेमा टेक्सस साधारण सभाले प्रवेश पाउला ? एउटै सञ्चार माध्यममा कार्यरत विकासराज न्यौपानेलाई उधारोमा मनोनयन गर्न दिने सुविधा तारा बरालले कुन विधान, कानुन र निर्देशिकाबाट दिए ? निर्वाचन निर्देशिकामा उम्मेदवार हुन तोकिएको दस्तुर नै नतिरी विकासराज न्यौपानेले कसरी उपाध्यक्ष विजयी भएको प्रमाण-पत्र पाए ।

के एउटै अनलाइनमा काम गर्ने भएकाले उनलाई उम्मेदवारी शुल्क छुट दिइएको हो ? यो सोझै जालसझी भएन ? तोकिएको मनोनयन शुल्क नतिरेको खुलासा भए पछि त्यस तर्फ आत्मालोचना गर्न गराउन सुदिप पन्त नेतृत्वको समिति किन मौन बस्यो ? जालसझी गरेको व्यक्तिलाई पुन सल्लाहकार पुरस्कृत गरियो ? आफूलाई ‘व्यवसायीक’ दाबी गर्ने र अरूलाई नैतिकताको पाठ सिकाउने रामचन्द्र भट्टले नियम विपरीतको कार्यमा किन किनराको साक्षी बसे ? उनको स्वघोषित नैतिकता कहाँ हरायो ? एउटै मिडियामा काम गर्नेले जालसाझी गर्दा पनि ठिकै हुने हो ?

सदस्यता छानबिनमा विकासको इन्ट्रि किन ?
आफू पदमा आउनु अगाडि नेजाका बारेमा विषवमन गरेका दर्जनौँ स्टाटस रामचन्द्र भट्टले डिटिट गरेका छन् । तर ती स्टाटस उनको वालबाट हटे पनि इन्टरनेटमा भेट्न सकिन्छ । मुख्य तय नेजाको नेतृत्व हत्याउनका लागि अघिल्लो कार्यसमितिका केही पदाधिकारी लागेको भन्दै उनले भ्रम सृजना गरेका थिए । कु तर्क गरेका थिए । जबकि त्यो समय सदस्यता छानबिन समितिमा बसेका सबै सदस्यले अबको निर्वाचनमा प्रतिस्पर्धी नबन्ने सार्वजनिक नै गरेका थिए ।

तर अहिले विकासराज न्यौपाने सदस्यता छानबिन समितिको समितिमा कुन आधार र के का लागि बस्न पुगे ? एकतर्फ अध्यक्षको दावेदारी गर्ने अनि आफै सदस्यता छानबिन समितिमा बस्ने ? अर्को तर्फ उपाध्यक्ष त्यही कार्यसमितिको सदस्यको संयोजकत्वमा गठित समितिको सदस्यमा बस्न पदीय मर्यादाले दिन्छ ? उपाध्यक्ष भनेको अध्यक्ष नहुँदा अध्यक्षले गर्नु पर्ने काम गर्नु पर्ने हुन्छ भोलि कमदकदाचित अध्यक्षको अनुपस्थितिमा कार्यसमितिको बैठक बस्नु पर्ने भएमा आफै सदस्य रहेको छानबिन समितिको बारेमा कसरी निर्णय लिने ?

उपाध्क्षमा निर्वाचित हुँदै गर्दा मनोनयन दस्तुर त नतिरी प्रमाण-पत्र लिने व्यक्तिले सदस्यता छानबिनमा नैतिकवान् भएर काम गर्छ भनेर के आधारमा विश्वास गर्ने ? सदस्यता छानबिन समितिमा बसेको कारण अबको निर्वाचनमा कुनै पनि पदमा दाबी गर्ने छैन भन्ने नैतिकता छ ? त्यो भन्दा ठुलो पदको भोक के हुन्छ ? नेजा सबै पत्रकारको हो कि एउटा अनलाइनमा काम गर्ने पत्रकारको मात्र ? नेजामा अमेरिकामा रहेका सबै पत्रकार अठाउने कि केही व्यक्ति मात्र ? एउटा अनलाइनको कब्जामा संस्था लैजाने प्रपञ्च हो भने अहिले सबैको “साझा अध्यक्ष” बन्ने सपना देखेका सुदिप पन्त यता न उताका नहोलान भन्न सकिँदैन ।

दुखका साथ भन्नु पर्छ सन् २०१४ मा टेक्ससमा नै सम्पन्न नेजाको चुनावी साधारण सभामा असन्तुष्ट हुँदै अमेरिकामा रहेका नेपाली पत्रकारको ठुलो समूहले नेजा त्याग गरेको थियो । त्यस मध्ये अझै पनि केही नेजामा फर्किएका छैनन् । यो साधारण सभाले नेजाभित्र रहेकालाई सन्तुष्ट पार्दै अझै बाहिर रहेकालाई पनि भित्राउने वातावरण बनासो । आफू पदमा रहे मात्र नेजा ठिक भन्ने प्रवृत्तिलाई निरुत्साहित गरोस् । जालसाझी नहोस् । साधारण सभा सफलताको शुभ कामना । विश्व प्रेस दिवसको शुभ कामना ।

*लेखक नेजा न्यु योर्क क्षेत्रका पूर्व संयोजक हुन् ।