अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

नेजाकाे विधान अधिवेशन: बन्द्रसत्र मध्यरातमा, समय एक घण्टा मात्र

विष्णुहरि घिमिरे २०७६ वैशाख १९ गते ८:४१ मा प्रकाशित

अमेरिका, कुनै पनि सङ्घ सस्थाकाे सबै भन्दा शक्तिशाली निकाय भनेको साधारण सभा हो । संस्थाका बारेमा अन्तिम निर्णय गर्न सक्ने निकाय भनेकै साधारण सभाको बन्दशत्र हो । नेपाल अमेरिका पत्रकार सङ्घ नेजाकाे १३ ‌औं साधारण सभा मे ४ र ५ मा टेक्ससमा हुँदै छ ।

यो अधिवेशन विधान अधिवेशन पनि हो । विधानत नेजाले वर्षमा कम्तीमा एक पटक अधिवेशन गर्नु पर्ने हुन्छ । एउटा अधिवेशनलाई चुनावी र अर्कोलाई विधान अधिवेशनको रूपमा लिने गरिएको छ । अहिले टेक्ससमा हुन लागेको अधिवेशन विधान अधिवेशन हो । त्यसका साथै सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको संस्थाको बन्द सत्र हो तर नेजा महासचिव किरण मरहठ्ठाद्वारा बुधवार राती जारी गरिएको साधारण सभाको कार्यतालिकामा बन्द सत्रलाई केवल औपचारिकताका लागि मात्र स्थान दिइएको छ ।

साधारण सभाको दुई दिने कार्यतालिकामा बन्दशत्रले जम्मा एक घण्टा समय पाएको छ त्यो पनि मध्यरातमा । बन्दशत्रमा महासचिवको प्रतिवेदन, काेषाध्यक्षकाे प्रतिवेदन पेस गर्दै त्यसमा छलफल गरेर पारित गर्नु पर्ने हुन्छ । यस्तै कार्यसमितिको एक वर्ष कामकाे मूल्याङ्कन, अबको योजनामा पनि छलफल हुन सक्छ । नेजामा एक सय पचासको हाराहारीमा सदस्य छन् । तर बन्द सत्र राती १० बजे सुरु भएर ११ बजे सकिने गरी कार्यक्रम तय गरिएको छ । यो समय भनेको सामान्यतया सुत्नका लागि ओछ्यानमा जाने वा साथीभाइ खाइपिई रमाइलो गर्ने हो ।

यस्तो समयमा बन्द सत्र राख्नु भनेको कि त नेतृत्वले बन्दसत्रकाे महत्त्व बुझेन भन्ने अर्थ लाग्छ कि त उसले बन्द सत्र छल्न खाेजेकाे अर्थ लाग्छ । आलोचना सुन्न नचाहेर अप्ठेरो समयमा बन्दशत्रकाे समय ताेकिएकाे हुनु पर्दछ, ताकि भन्नलाई बन्द सत्र भयो भन्न पनि पाइयो र कम मान्छे भए पछि आफू अनुकूलका निर्णय गराएर ताली बजाउँदै वैधानिकता दिन पनि पाइयो ।

नेजाका महासचिव मरहठ्ठाले विषयको गहनता हेरेर बन्दशत्र लम्बिन पनि सक्ने बताए । ” यस पटक छलफलका त्यस्ता गम्भीर विषय केही छैन भन्ने सहमति भएर बन्दसत्रकाे समय त्यसरी निर्धारण गरिएको हो तर त्यहाँ उपस्थित साथीहरुकाे आवश्यकता अनुसार समय लम्माउन सकिन्छ, यही समयमा सकिने भन्ने हुँदैन, त्यो पछाडि सकिने टाइम कोट चैँ नगरिदएकाे भए पनि हुने थियो, आवश्यकता अनुसार लम्मिन्छ।”

राती दश बजे पछिको टाइम भनेको बेड टाइम हो, बन्दशत्र मध्यरातमा नै राख्नु पर्ने कारण किन पर्याे ? कर्मकाण्डी पुरा गर्न मात्र हो,भन्ने अर्को प्रश्नमा महासचिव मरहठ्ठाले कार्यक्रम तालिका तयार पार्दा केही गल्ती हुन सक्ने र त्यसमा परिमार्जन गर्न सकिने बताए । “बन्दशत्र मध्यरातमा त्यो पनि एक घण्टा भनेर तपाइले उपाठाउनु भएको कुरा महत्त्वपूर्ण हो, त्यो कार्यक्रम बनाउने क्रममा हामीबाट कुनै गल्ती भएको पनि हुन सक्छ, तपाइहरू जस्तो संस्था हाँकी सकेको व्यक्ति पनि यो संस्थामा हुनुहुन्छ तपाईहरुकाे सल्लाहमा कुनै पनि हिसाबमा परिमार्जन गर्न तयार छौ, जसरी परिमार्जन गर्दा राम्रो हुन्छ त्यसरी गर्न तयार छौ ।”

महासचिवले प्रेषित गरेको कार्यक्रम तालिकामा नेजाकाे बन्दशत्र भन्दा गोष्ठीलाई बढी महत्त्व दिइएको छ । त्यसमा पनि गाेष्ठिमा प्रमुख कार्यपत्र प्रस्तुतिकर्ता पाका पत्रकार किशोर नेपाल अमेरिकामा रहेका नेपाली पत्रकारका लागि विवादित व्यक्ति हुन् । केही वर्ष अगाडि उनले “भारतीयहरुकाे स्टोरमा काम गर्छन्, भात खान्छन् र नेपालमा खेताला राखेर गाली गराउँछन् ……” भन्ने लेख लेखेर अमेरिकामा रहेका सबै नेपाली पत्रकारलाई एउटै ढालाेमा हालेर चरित्र हत्या गर्ने प्रयास गरेका थिए । किशोर नेपालको सो लेखकाे अमेरिकामा रहेका पत्रहरूले खुलेरै प्रतिवाद गरेका थिए । त्यस क्रममा अमेरिकामा रहेका पत्रकार राजेश मिश्र र किशोर नेपालको सामाजिक सञ्जालमा भनाभन नै चलेको थियो, तर अहिले किशोर नेपाल र राजेश मिश्र मञ्च शेयर गर्दैछन् ।

अमेरिकामा रहेका नेपाली पत्रकारलाई जुन घृणा जगाउने गरी लेख्नु भएको थियो त्यसलाई अब नेजाले स्वीकार गरेको हो भन्ने प्रश्नमा महासचिव किरण मरहठ्ठाले स्वीकार र बहिष्कारमा आफूहरू नलागेको बताए । “स्वीकार-अस्वीकारको कुरा पनि होइन, केही लेखेकै आधारमा सम्मान वा बहिष्कार गर्नु पर्ने भन्ने संस्था पनि नेजा होइन, खाली उहाँको पत्रकारितामा अनुभवका हिसाबले प्यानलिष्टकाे रूपमा बाेलाइएकाे हो ।”

महरठ्ठाले अनुभवी मान्छे त्यो बेला अमेरिकामा नै उपलब्ध हुने भएकाले किन नबोलाउने भनेर बाेलाइएकाे भन्दै उहाँ प्रतिका बारेमा मिडिया सेसनमा नै सोध्न आग्रह गरे । उनले भने ” हामीले सम्मान गर्न वा खादा ओढाउन बाेलाएकाे होइन ।” महरहठ्ठाले किशोर नेपालको खर्च नेजाकाे कोषबाट नबेहाेरिने समेत दाबी गरे ।

बन्द सत्र मध्यरातमा त्यो पनि एक घण्टाको समय ताेकेकाे नेजाले प्रवासमा नेपाली पत्रकारिता: चुनाैति र अवसरको मिडिया सेसनका लागि साँझ ६ देखि ८ बजे सम्मको दुई घण्टाको समय दिएको छ । यस्तै नेजाले गैरआवासीय नेपाली सङ्घ एनआरएन अमेरिकाको निर्वाचनका उम्मेदवार सँगको अन्तकृयालाई पनि बन्दशत्र भन्दा बढी महत्त्व दिएको छ । साधारण सभा र बन्द सत्र पटक पटक हुँदैन । जबकि मिडिया सेसन र अन्तर्किया जुन सुकै समयमा छाेटाे सुचनाकाे आधारमा पनि गर्न सकिन्छ । एनआरएन सँगको अन्तरक्रिया दिउसो साढे एक बजे देखि चार बजे सम्मको लागि समय ताेकिएकाे छ ।