अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

NRNA अमेरिकाको निर्वाचनका सन्दर्भमा मैले यस्तो निर्णय लिएँ

रामप्रसाद खनाल २०७६ वैशाख ४ गते १२:४४ मा प्रकाशित

अमेरिकाको बसाई पनि ११ वर्ष पुरा भएछ । यो अवधिमा कुनै पनि राजनीतिक गतिविधि र गुटमा नलागी विशुद्ध गीत सङ्गीत, साहित्य, कला र संस्कृतिका लागि आफू सक्दो योगदान दिने प्रयास गर्दै अगाडि बढेको छु जुन तपाईँहरूलाई विदितै छ ।

समाजका केही अगुवा, विद्वान र सामाजिक हैसियत बनाएका मित्रहरूको आग्रहमा मैले NRNA अमेरिकाको हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने सोच घोषणा गरेको थिएँ । केही समय यता मैले हेरिरहेको छु पोटोम्याक नदीमा धेरै पानी बगिसकेको छ र मैले पनि हाम्रो नेपाली अमेरिकी समाजलाई नजिक बाट नियालिरहेको छु । यहाँ पनि त्यही नेपालको फोहोरी राजनीति, गुटबन्दी, पदको मात्र बार्गेनिङ, कुण्ठाहरू देखे पछि मैले NRNA अमेरिकामा जाने मेरो पूर्व निर्णय म आफै बदर गर्ने निर्णय गरेँ ।

आफ्नो स्वाभिमान, नैतिकता, स्वतन्त्रतामाथि प्रश्न उठ्ने गरी मलाई नेपालका राजनीतिक पार्टीहरूका अमेरिका स्थित भगिनी सङ्गठनहरू सँग मिलेर, प्यानल बनाएर, गुटबन्दी गरेर चुनावमा जान पटक्कै मन लागेन । NRNA अमेरिकाको निर्वाचनमा यसरी प्यानल बनाएर जाँदा समाजमा झनै फुट आउने, NRNA विवादमा पर्ने देखेकोले NRNA संस्थालाई राजनीतिक गुटबन्दी बाट अलग राख्न सम्बद्ध सबै पक्षलाई यसो नगर्न हार्दिक अनुरोध गर्दै, आफू उम्मेदवारी बाट अलग भएको घोषणा गर्दछु ।

अब नेपाल तिर पनि बसाई अलिकति बढाउने र केही गर्ने सोचमा रहेको म संस्थामा रहेर भन्दा बाहिर बसेर पनि आफू सक्दो योगदान दिनुपर्छ, दिन सकिन्छ भन्ने मान्यता राख्दछु । आफू अब बाँकी जीवन पनि राजनीतिबाट पूर्ण अलग रही स्वतन्त्र रूपमा गीत सङ्गीत, साहित्य, कला, संस्कृति र पत्रकारितामै बिताउने प्रण गर्दछु ।

NRNA लाई निर्बिबाद र सबै नेपालीहरूको साझा सङ्गठन बनाउन मेरो सदैव सत् प्रयास हुने नै छ । धन्यवाद ।