अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

ओलम्पिक छनोट : म्यानमारसँग नेपाल पराजित

बिआरटीनेपाल २०७५ चैत २० गते १०:१६ मा प्रकाशित

टोकियो ओलम्पिक २०२० को दोस्रो चरणको छनोटअन्तर्गत नेपाली महिला राष्ट्रिय फुटबल टोली पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको छ। खेलको २३ औँ मिनेटमा नै म्यानमारले अग्रता कायम राखेको थियो। नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै यीयी ओले आफनो टिमलाई अग्रता दिलाइन। पुनम जर्घा मगरले फ्रिकिक बललाई हेडर मार्फत क्लियर गर्न खोज्दा पाएको अवसरलाई ओकोले जाली चुमाइन्।

खेलमा पछि परेको नेपालको लागि पहिलो हाफको इन्जुरी समयमा कप्तान निरु थापाले बराबरी गरिन्। अनिता बस्नेतको कर्नरलाई जाली चुमाउदै थापाले खेल बराबरीमा ल्याएकी हुन्।  म्यानमारले पहिलो हाफमा निकै आक्रमण गरे पनि नेपाली डिफेन्सले त्यसलाई विफल पार्न सफल भएको थियो। दोस्रो हाफको दोश्रो मिनेटमा नै विन थेंगी तुनले पेनाल्टीमा गोल गर्दै म्यानमार लाई अग्रता दिलाइन्। पुनम जर्घा मगरले तुनलाई डिवक्सभित्र लडाएपछि पाएको पेनाल्टी गोलमा परिणत भयो। खेलको अन्तिम समयमा तुनले नै म्यानमारको अग्रता बढाइन्।

गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले क्रसमा आएको बल फुस्काएपछि तुनले खाली पोस्टमा गोल गरेकी थिइन्। यसअघि पहिलो चरणमा नेपालले म्यानमारसंग १–१ गोलको बराबरी खेलेको थियो। समूहको अर्को खेलमा भारतले इन्डोनेसियालाई २–० ले पराजित गरेको थियो। यससँगै म्यानमार अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल पुछारमा पुगेको छ। अब नेपालले शुक्रबार भारतको सामना गर्नेछ।

प्रतिक्रिया