अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

रङ्गशाला निर्माण स्थलमा धुर्मुस सुन्तलीको श्रमदान

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

बिआरटीनेपाल २०७५ फागुन ३० गते ११:११ मा प्रकाशित

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

धुर्मुस सुन्तली रङ्गशालाको काममा व्यस्त छन् । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण स्थलमा मङ्गलवार र बुधवार धुर्मुस सुन्तली श्रमदानमा व्यस्त भए ।  

बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्दा उनीहरू हौसिएका थिए । भरतपुर महानगरपालिका वडा नं १५ मा निर्माणाधीन रङ्गशाला बनाउने चटारोले हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याई नभ्याई छ । सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरूका लागि आवास निर्माणको काम गरेका थिए । टेलिभिजनको पर्दामा देखिएको मन पर्ने कलाकार धुर्मुस सुन्तली सँगै सिमेन्टको मसला बनाउने र बोक्ने उनीहरू दङ्ग पनि परिरहेका थिए । निर्माण स्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने । 

निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भइरहेको छ । उनीहरूले स्थानीयलाई रङ्गशाला निर्माण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनीहरू आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका थिए । भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रङ्गशाला निर्माण गर्न लागिएको छ । कट्टेल र घिमिरे दुबै जना एकै ठाउँमा बसेर स्थानीयहरू सँग भेटघाट पनि गरिरहेका थिए ।

निर्माण स्थलमा विभिन्न सङ्घसंस्थाले श्रमदान समेत गर्न थालेका छन् । रङ्गशालाको गुरुयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग सङ्कलन भएको छ । 

तीन करोड नेपालीहरूको सहयोग लेनै रङ्गशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे । ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भने “यो देश बिकासकालागि सबै एक हुने समय आएको छ । अब देश बनाउने समय हो राजनैतिक मुद्दाका आन्दोलन सकिए पछि अब विकासको आन्दोलनमा सबै सहभागी हुन जरुरी छ ।”

अहिले आर्थिक सङ्कलनको काम पनि भइरहेको बताउँदै उनले देश भरिबाट कसरी आर्थिक सङ्कलन गर्ने भन्ने विषयमा सोच बनाई रहेको घिमिरेले जानकारी दिइन् । विदेशबाट पनि सहयोग आउने क्रम जारी रहेको बताउँदै उनले शिलान्यास गरेको दुई वर्षमा रङ्गशाला निर्माण हुने विश्वास दिलाइन् । 

प्रतिक्रिया