अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

राष्ट्रसंघ मुख्यालयमा नेपाली सेना दिवस

बिआरटी नेपाल संवाददाता, न्यु योर्क २०७५ फागुन २४ गते १५:३८ मा प्रकाशित

स्थायी प्रतिनिधि राईले ओहोदाको प्रमाणपत्र बुझाए

संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार नेपाली सेना दिवस मनाइएको छ । राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति अभियानमा साझेदारी गरेको ६१ वर्ष पुगेको अवसरमा नेपाली सेना दिवस मनाइएको हो । 

कार्यक्रममा पिस अपरेसन्स उपमहासचिव सान पिएर ल्याख्वाले नेपाल र राष्ट्रसंघबीचको सम्बन्ध हार्दिकतापूर्ण र खुल्ला रहेको बताए । ‘पिस किपिङ इनिसियटिभलाई सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘पिस किपिङ फेमिलीमा नेपाल महत्त्वपूर्ण सदस्य हो ।’ 

राष्ट्रसंघका अपरेसनल सपोर्ट उपमहासचिव अतुल खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति प्रक्रियामा ठुलो योगदान दिएको बताए । ‘बितेका ६१ वर्षमा १ लाख २२ हजारभन्दा बढी नेपाली सुरक्षाकर्मीले ४२ अन्तर्राष्ट्रिय शान्ति अभियानमा सेवा प्रदान गर्नु भएको छ,’ उनले भने, ‘यसको मतलब नेपालको हरेक सुरक्षा अधिकारीले एउटा न एउटा शान्ति अभियानमा सहभागी भएर योगदान पु¥याउनु भएको छ । यो नेपाल र राष्ट्रसंघको बलियो साझेदारी र मित्रताको आधार हो ।’ 

कार्यक्रम बिहीबारै राष्ट्रसंघीय महासचिव एन्टोनिउ गुटेख्वेर्ससमक्ष ओहोदाको प्रमाणपत्र बुझाएर संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेका अमृतबहादुर राईले सहजीकरण गरेका थिए । उनलाई स्थायी प्रतिनिधिका रूपमा राष्ट्रसंघका वरिष्ठ अधिकारीहरू र अमेरिकामा रहेका नेपाली समुदायका अगुवाहरूले बधाई तथा शुभकामना दिएका थिए । 

राई स्थायी प्रतिनिधिका रूपमा नेपाललाई राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने सम्भवतः पहिलो सहसचिव हुन् । यसअघि उक्त पदमा सचिव नै आउने गरेका थिए । स्थायी प्रतिनिधिका कुनै एउटा देशको राजदूत भइसकेको अधिकारी योग्य हुन्छ । 

यसअघि राई परराष्ट्र मन्त्रालयको नीति योजना महाशाखा प्रमुख थिए । सन् १९९६ मा परराष्ट्र सेवा सुरु गरेका राई यस अघि दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत रहिसकेका छन् भने परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख पनि रहिसकेका छन् । युरोप अमेरिका महाशाखामा पनि अनुभव रहेका उनी सन् २००८ देखि २०१२ सम्म स्थायी नियोगमा मिनिस्टर काउन्सिलरका रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया