अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

न्यूयोर्कमा तमु ल्होछार सम्पन्न

बिआरटी नेपाल संवाददाता, न्यु योर्क २०७४ पुष १८ गते १०:५७ मा प्रकाशित

गुरुङ (तमु) हरुको महान् चाड तमु ल्होछार २०७४ विभिन्न सांस्कृतिक कार्यक्रमका सहित सम्पन्न भएको छ । द गुरुङ (तमु) सोसाइटी अमेरिकाको आयोजनामा वार्षिक रूपमा मनाउँदै आएको ल्होछार यसपालि डिसेम्बर ३० मा मनाइएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले चरा वर्ग (च्हा ल्हो) को बिदाइ र कुकुर वर्ग (खिल्हो ) को स्वागत गर्दै मनाएका हुन् ।

विशेष अतिथि ८० बर्षिया उमा गुरुङले पानसमा दीप प्रज्वलन गर्दै ल्होछार गरिन् । उनले सबैको सुस्वास्थ्य, शान्ति र प्रगतिको कामना गरिन् । कार्यक्रममा न्यू योर्क वाणिज्यदुत कृषु क्षेत्रीले ल्होछारको शुभकामना दिए । उनले गुरुङको जातीय, भाषिक, सांस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारजस्ता सांस्कृतिक मौलिक परम्परालाई निरन्तरता दिने पर्ने बताए । ‘तमुहरू एक भएर जानु राम्रो हुन्छ,’ गुरुङहरुको दुई वटा जातीय संस्था रहेको सन्दर्भ उल्लेख गर्दै उनले भने ।

कार्यक्रममा वाणिज्यदुत क्षेत्रीलाई मौलिक गुरुङ पहिरन भांग्रा र उनकी पत्नी रीता सुवेदीलाई घलेक ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सन २०१५ मा नेपालमा गएको भूकम्पपछि गुरुङ समाजले नेपालको ४ वटा जिल्लामा गरिरहेको पुननिर्माण परियोजना बारे जानकारी गराइएको थियो । समाजले दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसँग मिलेर दुई वटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माण गरेको छ भने चन्द्र गुरुङ संरक्षण कोषसँग मिलेर गोरखाको गुम्दामा सुर्योदय माध्यमिक विद्यालय पुननिर्मांण, जागरण मिडिया सेन्टरसँग मिलेर सिन्धुपाल्चोकको सिपापोखे्रमा बाल कल्याण प्राथमिक विद्यालय पुननिर्माण, र सगुनसँगको सहकार्यमा काभे्रपलाञ्चोकको खार्पाचोकमा एउटा निम्न माध्यमिक विद्यालय पुननिर्माणको काम गरिरहेको छ ।

कार्यक्रममा गुरुङहरुको मौलिक पोशाक प्रोत्साहन गर्न उत्कृष्ट पोशाक पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार पाउनेमा १२ वर्ष देवन गुरुङ रक्षा गुरुङ थिइन् भने महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ लिलबहादुर गुरुङ थिए ।

गुरुङ जातिले विभिन्न १२ जीवजन्तुको चक्रलाई आधार मानेर नयाँ वर्षको रूपमा ल्होछार मनाउने गर्छन् । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुन्छ । त्यसैले ल्होछारलाई गुरुङहरुले नयाँ वर्षको रूपमा मनाउँछन् ।

यसैबिच, गुरुङ समाजका अध्यक्ष पदम बहादुर गुरुङले, ल्होछारको शुभकामना दिदैं, ल्होछार पर्वले गुरुङहरूको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताउनुभयो । ल्होछार पर्वले, तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच एउटा सुमधर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै अध्यक्ष गुरुङले, तमुहरुबीच एकता हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । हिजो के भएको थियो, त्यसमा अल्झेर नबस्न आग्रह गर्दै उहाँले, सम्पूर्ण तमुहरूलाई एक ढिक्का बनाएर लैजान गुरुङ समाज सधैँ प्रयत्नरत रहेको दाबी गर्नुभयो । विदेशको ठाउँमा आएर सबै जना मिलेर बस्नुपर्नेमा जोड दिँदै उहाँले, केही असमझदारी भएमा टेबलमा बसेर बसेर छलफल गरी समाधान खोज्न र तमु एकताको लागि पहल गर्न सबै गुरुङहरूलाई अनुरोध गर्नुभयो ।

कार्यक्रम संयोजक प्रकाश गुरुङले ल्होछारको शुभकामना दिँदै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै कलाकार, भोलेन्टियर र उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।

साँझ ८ बजेदेखि बिहान २ बजेसम्म चलेको कार्यक्रममा ५० बढी स्थानीय कलाकारहरूले विभिन्न मौलिक, सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा, गुरुङहरूको मौलिक, सांस्कृतिक, परम्परागत नृत्यहरू पच्यु, घ्याब्री, र छयाडु, कौडा लगायत नृत्य प्रस्तुत गरिएको छ । पच्यु नृत्य खास गरी पच्युहरुले विभिन्न संस्कारहरू सम्पन्न गर्ने गरिन्छ । गुरुङहरूले शुभ कर्म, विवाह भोज, पूजाआजा, मरौँ, दुख पर्दा पच्युहरुले विधिपूर्वक संस्कार गर्ने चलन छ । त्यस्तै, घ्याब्री नृत्य खास गरी थासो फाल्ने र नराम्रो पन्छाउने र ग्रहशान्ति गर्ने र शुद्ध गर्नको लागि यो नृत्य गर्ने गरिन्छ । यो घ्याब्री नृत्य खास गरी शुभ कार्यहरू गर्नुपूर्व मन्छाउने गरिन्छ । त्यस्तै, छ्याडु नृत्य खास गरी कसैको घरमा मरौँ पर्दा, दुख पर्दा अर्घौ गरेको बेलामा अर्घौ गर्ने गरिन्छ । अर्घौ खास गरी ३ दिनसम्म गर्ने गरिन्छ । मृतआत्माको स्वर्गबास होस र शोकाकुल परिवारको मनोबल बडाउनको लागि अर्घौको दोस्रो दिनमा घ्याब्री नृत्य गरिने चलन छ ।

कार्यक्रम सुरुदेखि नै हलमा खचाखच दर्शकलाई उद्घोषकद्वय मच्छे गुरुङ र विजय गुरुङको प्रस्तुतिले अन्त्य सम्म नै अड्याउन सफल भएको थियो ।

कार्यक्रममा, समाजलाई सहयोग गर्ने र विशेष योगदान पुरयाउने विष्णु पुन मगर र रोशनी गुरुङलाई स्पेशल रिकग्निसन प्रमाण पत्रले सम्मान गरेका थिए । त्यस्तै, यस वर्ष समाजको आजीवन सदस्य बनेका ५ जनालाई प्रमाण पत्र र ब्याजले सम्मान गरेका थिए । त्यस्तै, राफल टिकेट पुरस्कारमा पहिलो हुनेले ल्यापटप, दोस्रो हुने एप्पल घडी र ते?ो हुनेले एप्पलकै मिनी आइप्याड प्राप्त गरेका थिए ।
सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ ल्होछार मनाएको े । ल्होछार पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दाबी छ । गुरुङ जातिले हरेक वर्ष पुस १५ मा विविध सास्कृतिक कार्यक्रमसाथ ल्होछार पर्व मनाउँदै आएको छ । तमु ल्होछार २०७४ को आव्हान, जातीय पहिचान सहितको प्रादेशिक नामांकन हाम्रो अभियान भन्ने नाराका साथ तमु ल्होछार देश तथा विदेशमा बसोबास गर्ने गुरुङहरूले मनाएका छन् ।

नेपालमा हरेक वर्ष पुस १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाउँदै आएको छ । गुरुङ समाजका अध्यक्ष गुरुङले, ल्होछारलाई भव्य, सभ्य र सफल बनाउन र हर्सोल्लासका साथ मनाउन उपस्थित सम्पूर्ण गुरुङहरू तथा अन्य विभिन्न जातीय सङ्घसंस्था साथै विभिन्न स्थानीय नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरू लगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । ल्होछारमा, बालबालिका र वृद्दवृद्दाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

हिउँ परेर मौसम प्रतिकूल भए पनि ६ सयको हाराहारीमा उपस्थित मध्ये अन्य समुदायका बाहेक सबै महिला तथा पुरुषहरू आफ्नो मौलिक पोसाकमा सजिएर आएका थिए । कार्यक्रममा कलाकार तथा नृत्य निर्देशकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । समाजले वर्षभरि गरिन विभिन्न महत्त्वपूर्ण कार्यक्रम समेटर तयार पारेको वर्ष क्यालेन्डर २०१८ पनि सार्वजनिक गरिएको थियो । साथै, मैरिमो चलचित्रका निर्देशक तथा नायक प्रेम गुरुङको नयाँ गीतको सिडी पनि विमोचन गरिएको थियो । कार्यक्रममा डिजेको समेत प्रस्तुति रहको थियो ।

सम्बन्धित सामग्रीहरू