अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

अख्तियारको उद्देश्यलाई बोकेको चलचित्र ‘सयकडा दश’: प्रमुख आयुक्त घिमिरे

कृष्ण भुसाल २०७५ माघ २३ गते १२:३५ मा प्रकाशित

ललितपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चलचित्र ‘सयकडा दश’लाई अख्तियारको उद्देश्यलाई बोकेको चलचित्र भनेका छन् । आयुक्तले हिजो ललितपुरको पुलचोक स्थित क्युएफएक्स हलमा दर्शक माझ बसेर चलचित्र हेरेपछि ‘अख्तियारको उद्देश्यलाई बोकेको चलचित्र’ भनेका हुन् । 

उनले भने ‘चलचित्र सन्देश मूलक छ । म आशा विश्वास र अपेक्षा पनि के गर्छु भने यो चलचित्र हरेक नेपालीले हेर्नुपर्ने चलचित्र बनेको छ’, उनले अगाडि भने ‘अख्तियारको मूल मर्मलाई नै बोकेर चलचित्र बनेको लाग्यो मलाई । भ्रष्टाचारका विषयमा मैले बारम्बार भन्ने गरेको कुरा मौन रहनु पनि छन् ठुलो भ्रष्टाचार हो । त्यो मौनतालाई चिर्ने काम यो चलचित्रले गरेको छ ।’

चलचित्रलाई अख्तियार प्रमुख आयुक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालगायत विभिन्न व्यक्तित्वहरूले हरेका थिए । आयुक्त डा. सावित्री गुरुङले हसाउदै रमाइलो गराउँदै महत्त्वपूर्ण सन्देश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यवाद दिइन । साथसाथै यो चलचित्र कुनै वर्ग विशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिइन ।

यही माहौलमा ‘सयकडा दश’ हेर्न आफ्ना भक्तजनहरू सहित आएकी विदुषी सपना माताले चलचित्र अत्यन्तै मार्मिक भएको भएको भन्दै सबैलाई नछुटाउन अनुरोध गरिन ।

बेलुका ६ बजेको सो मा पनि दर्शकहरूको बाक्लो उपस्थिति रहेको र अधिकांश दर्शकले राम्रो चलचित्र भनी प्रतिक्रिया दिएका थिए । सबैले चलचित्र सन्देश मूलकसहित मनोरञ्जनले भरपूर्ण रहेको भन्दै उक्त चलचित्र एक पटक हेर्नै पर्ने सुझाए । उनीहरूले ‘यसको सन्देश प्रभावशाली मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत छ’ भनेका थिए । 

शुक्रवार रिलिज भएको रामशरण पाठक निर्देशित चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, रवि डङ्गोल, रश्मि भट्टलगायतको अभिनय रहेको छ । चलचित्र राम्रो व्यापार गरिरहेको निर्माणपक्षले जनाएको छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सञ्जीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायाकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।