अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

कराँतेकी एक्ली जमुना बस्नेत

बिआरटीनेपाल २०७५ माघ ३ गते ९:३० मा प्रकाशित

भीमदत्तनगर, सुदूरपश्चिम प्रदेशमै खेल जगत्मा चिनिएको नाम हो जमुना बस्नेत । सितो रियो कराँतेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रूपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो ।

विसं २०४८ देखि कराँतेमा होमिनुभएकी बस्नेतले गाउँ बस्तीमा खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । “हामीले खेल्दा महिला घरबाट बाहिर जानै हुँदैन भन्ने मानसिकता थियो,” बस्नेतले आफूले खेल्दाको विगत सम्झिँदै भन्नुभयो, “अहिले खेलजगत्मा धेरै परिर्वतन आएकाले सहज भएको छ ।”

सितो रियो कराँतेकी स्थायी प्रशिक्षक बस्नेतले २०५० सालदेखि निरन्तर रूपमा शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित खेल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आउनुभएको छ । झलारीकै कराँते प्रशिक्षक दानबहादुर खातीबाट उहाँले कराँतेको प्रशिक्षण लिनुभएको हो । उहाँले २०५८ सालसम्म थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जित्नुभयो ।

“खेल्न थालेको महिना दिनमै धनगढीमा सम्पन्न आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जिते,” बस्नेतले भन्नुभयो, “ विसं २०५१ मा करारमा प्रशिक्षक नियुक्त भएसँगै खेल्ने र खेलाउने दुवै काम गरेँ ।” उहाँकै सिको गरेरै सुदूरपश्चिममा धेरै महिला खेल कराँते खेल्न थालेका हुन् ।

झलारी बजार छेउमै रहेको सुनवरा नदीको बगरमा उहाँले हाल खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आउनुभएको छ । खेलबाट परिचय र सम्मान प्राप्त भएको उहाँ बताउनुहुन्छ । “खेलकुद अनुशासनको महत्त्वपूर्ण कडी हो,” बस्नेतले भन्नुभयो, “खेलमा मेहनतअनुसारको फल नपाउने कुरै आउँदैन ।”

पछिल्लो समय जिल्ला खेलकुद विकास समितिको लगानीका कारण खेल मैदानमा सुधार आइरहेको छ । “द्वन्द्वकालमा ७०÷८० खेलाडी प्रशिक्षणका लागि आउँथे,” बस्नेतले भन्नुभयो, “त्यतिचबेला विभिन्न चुनौतीका बिच ग्रामीण भेगमा बसेर खेल गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता थियो ।”

बस्नेतले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिरहेका छन् । राष्ट्रपति रनिङ शिल्डमा समेत उहाँकै खेलाडीको दबदबा रहने गरेको छ । “सेना र प्रहरीमा जागिर खानेको सङ्ख्या धेरै छ,” उहाँले भन्नुभयो, “खेलेरै बाँच्न नसक्ने भएपछि धेरै खेलाडीले विकल्प खोज्न थालेका हुन् ।”

हरेक दिन प्रशिक्षणमा बिताउँदै आउनुभएकी बस्नेतले खेलकुदको विकास गाउँबस्तीतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । “खेलमा लगानीको आवश्यकता छ,” उहाँले भन्नुभयो, “ खेल खुलेरै भविष्य बन्छ भनेर खेलाडीलाई आश्वस्त पार्नु जरुरी छ ।”

कराँते प्रशिक्षक विमल खडायत बस्नेतकै कारण कराँतेमा महिला खेलाडी आकर्षित भएको बताउनुहुन्छ । “दुई दशकअघि कराँतेप्रति महिलाको आकर्षण कमै थियो,” उहाँले भन्नुभयो, “समाज र घरपरिवारको चुनौतीको सामना गर्दै जमुना कराँतेमा समर्पित हुनुभयो ।”

बस्नेतको खेलबाट लोभिएर नै सुदूरपश्चिममा अधिकांश महिला खेलाडी कराँतेप्रति आकर्षित भएको कराँते प्रशिक्षक कर्मबहादुर सिंह बताउनुहुन्छ । “जमुना कराँतेमा यस प्रदेशकै गौरव गर्न लायक खेलाडी तथा प्रशिक्षक हुन्,” प्रशिक्षक सिंहले भन्नुभयो । कञ्चनपुरमा हाल झलारीसँगै करिब दुई दर्जन सितो रियो कराँते डो जो सञ्चालित छन् । हरेक डोजोमा प्रशिक्षणका लागि आउने खेलाडीमा अधिकांश महिला छन् । 

प्रतिक्रिया