अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता माघको तेस्रो साता

बिआरटीनेपाल २०७५ पुष १७ गते ८:५८ मा प्रकाशित

मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता माघको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ १५ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुन लागेको पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रतियोगितामा ३ विदेशी टिमसहित १२ टिमको सहभागिता रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजनका ९ टिम र ३ विदेशी टिम सहभागी रहनेछ ।

विदेशी टिममध्ये जापानबाट युनिभर्सिटीको टिमको सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ । भारत र बंगलादेशका टिमहरुसँग छलफल भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्दै विजेतालाई ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा उपबिजेताले ४ लाख पाउनेछन् भने ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको छ ।

यसअघि विजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ३ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता सञ्चालनका लागि १ करोड १७ लाख खर्च लाग्ने एन्फा कास्कीले अनुमान गरेको छ । प्रतियोगिताबाट १ करोड २८ लाख ५० हजार संकलन गरेर साढे ११ लाख बचत गर्ने लक्ष्य लिइएको एन्फा कास्कीका सचिव रमेश कार्कीले जनाकारी दिनुभयो । बचत रकम रंगशालाको फुटवल मैदान पुनर्निर्माण र फुटवलको विकासमा खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया