अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

स्वर्ण पदक विजेता महेश्वरको रोदन, भन्छन– सरकारबाट सहयोग पाइन

बिआरटीनेपाल २०७५ पुष ५ गते ९:४३ मा प्रकाशित

विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जित्न सफल नेपाली खेलाडी महेश्वर महर्जनले आफ्नो सफलतामा नेपाल सरकारको कुनै भूमिका नरहेको बताउनुभएको छ । थाइल्याण्डको चाङमईमा भएको प्रतियोगितामा महेश्वरले गत शनिबार साँझ पुरुषतर्फको ७५ केजीको समूहमा स्वर्ण पदक जितेर नेपाल र नेपालीको नाम विश्वभर फैलाएपनि उहाँ सरकारबाट सकारात्मक सहयोग नपाउँदा निरास हुनुहुन्छ ।

१२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिंगापुरका खेलाडी तेस्रो भएका थिए । नेपाली खेलाडीले शारीरिक सुगठनमा विश्वस्तरमा स्वर्ण जितेको यो पहिलोपटक हो । महेश्वरले अन्तर्रा्ष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको भने दोस्रोपटक हो ।
अमेरिकामा एक अन्तर्वार्ताको क्रममा विश्व च्याम्पियन महर्जनले अश्रु मिश्रित स्वरमा भन्नुभयो, ‘ साथीभाइले गर्ने समर्थन आफ्नो ठाउँमा छ, तर जहाँ (सरकार) बाट सहयोग समर्थन पाउनु पर्ने हो त्यो २२ वर्षसम्म पनि पाएको छैन भने । उहाँको भनाई छ , ‘देशले गर्नुपर्ने हो गरेन, तर एउटा सपना थियो त्यो पूरा भएकोमा म खुशी छु ।’

महर्जनले यो पदक जिताउन साथीभाइहरुको भने ठूलो हात रहेको बताउनुभएको छ । सरकारबाट सहयोग नपाएपछि यो प्रतियोगिता त्याग्छु भन्ने मानसिकता बनाएपनि साथीभाइहरुकै हौसलाबाट अन्तिम पटकका लागि भनेर बैंककमा आयोजित अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक बिजेता बन्न सफल रहेको उहाको भनाई थियो ।

उक्त प्रतियोगिताका लागि व्यक्तिगत रुपमा ८–९ लाख रुपैयाँ खर्च भएको उल्लेख गर्दै महर्जनले अब फेरि त्यति धेरै खर्च गरेर प्रतियोगितामा सहभागी हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया