अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

एभरेस्ट प्रिमियर लिग (इपीएल)- भैरहवा ग्ल्याडिएटर्स र ललितपुर प्याट्रिएट्स विजयी

बिआरटीनेपाल २०७५ मंसिर २३ गते ८:३२ मा प्रकाशित

एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् आइतबारका खेलहरुमा भैरहवा ग्ल्याडिएटर्स र ललितपुर प्याट्रिएट्स विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले स्कटल्यान्डका खेलाडी कायल कोएट्जरको पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको छ ।
पोखराले दिएको २१६ रनको विशाल चुनौती भैरहवाले खेलमा दुई बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्न सफल भयो । भैरहवाका लागि भारतीय खेलाडी रभिइन्दर सिंहले शतकीय पारी खेल्दै अविजित १२५ रन बनाए । उनले ४७ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१५ रन जोडेको थियो । पोखराका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभीले ३६ बलमा ७९ रन जोड्न सफल रहे । यसैगरी, कायल कोएट्जरले ४७ रन जोड्दा सुनिल धमलाले ३८ रनको योगदान दिएका थिए ।

प्रतियोगिताअन्तर्गत् आइतबारै भएको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्सलाई पराजित गरेको छ । खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवनलाई ११ रनले हराएको हो । ललितपुरले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १३२ रनमात्रै बनाउन सक्यो । चितवनका दीपेन्द्रसिंह ऐरीले ४१ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । चितवनलाई सस्तैमा समेट्न लतिपुरका सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलेले २ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धा्रित् २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनाएको थियो । ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिँदा गौरव तमोरले ३० रन जोडे । जारी प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो । यसअघि, शनिबार भएको उद्घाटन खेलमा ललितपुरलाई विराटनगर वारियर्सले पराजित गरेको थियो ।

प्रतिक्रिया