अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

विश्वकप टी–२० क्रिकेट छनोटमा नेपाललाई चौंथो जित, भुटान विशाल रन अन्तरले पराजित

बिआरटीनेपाल २०७५ असोज २३ गते ९:४० मा प्रकाशित

मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ । बाङ्गीमा आज भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई १ सय १७ रनको विशाल रन अन्तरमा हराएको हो । खेलमा १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १७ औं ओभरमा अलआउट हुनुपूर्व ३३ रन मात्रै जोड्न सक्यो ।

भुटानको ईनिङ ध्वस्त पार्न नेपालका सन्दिप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिएका छन् । यसैगरी बसन्त रेग्मीले २ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र सरद भेषवाकरले १–१ विकेट हात पार्न सफल भए । खेलमा भुटानका तेन्जिन वाङ्चुकले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । जितसँगै नेपालले समुहका ४ खेलबाट ८ अंक जोडेको छ । समान ८ अंक जोडेको सिंगापुर रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

सात टोली सहभागी एसियाली समूह बी को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनोटका लागि छानिनेछन् । प्रतियोगितामा नेपालले अहिलेसम्म आयोजक मलेसिया, म्यानमार, थाईल्याण्ड र भुटानलाई पराजित गरिसकेको छ । नेपालले अब सिंगापुर र चीनसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया