अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

एशियाडमा रजत पदक विजेता प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा नागरिक अभिनन्दन

बिआरटीनेपाल २०७५ भदौ १९ गते ९:२८ मा प्रकाशित

इण्डोनेसियामा आयोजित १८ औं एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ टोलीलाई घरेलु शहर पोखरामा भव्य स्वागत गरिएको छ । मंगलवार आयोजित एक कार्यक्रमका वीच खेलाडी तथा प्रशिक्षकलाई नागरिक अभिनन्दन सहित सम्मान गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र पाईलट क्लबको संयुक्त आयोजनामा उनीहरुलाई सम्मान गरिएको हो ।

पोखरा विमानस्थलबाट खेलाडी तथा प्रशिक्षकहरुलाई नगरपरिक्रमा गरेर पोखरा रंगशाला पु¥याईएको थियो । पोखरा विमानस्थल ओर्लिएपछि खेलाडीलाई बाजागाजासहित पोखरा बजार परिक्रमा गर्दै नागरिक अभिनन्दन गराई साथ पोखरा रंगशालामा लगिएको सम्मान कार्यक्रमका संयोजक दिपक गोदारले जानकारी दिनुभयो । विमानस्थलबाट मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड, शहीदचोक, गौरीघाट, बाराहीचोक, हल्लनचोक, जिरोकिलोमिटर, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदैं पोखरा रंगशालामा पुगेर सम्मान कार्यक्रम गरिएको थियो । प्याराग्लाइडिङको पुरुष टिम इभेण्टमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा सहभागि हुनुहुन्थ्यो ।

एशियाडमा नेपाली प्याराग्लाइडिङ टिमले ६ वटा पदकमा प्रतिस्पर्धा गरेका थिए । एक्युरेसी एकल र युगलमा महिला तथा पुरुष तथा क्रसकन्ट्री विधामा पुरुष र महिला टिमले प्रतिस्पर्धा गर्दा पुरुष टिमले क्रसकन्ट्रीमा जापानसँग २७ अंकले पछि पर्दै रजत पदकमा चिक्त बुझाएको थियो ।

यसैवीच, पोखरामा प्याराग्लाईडिङ शुरु भएको २० वर्ष वितेको छ । २० वर्ष पुगेकै अवस्थामा सो खेलले नेपाललाई रजत पदक दिलाएको हो । सन् १९९६ देखि नेपालमै पहिलोपटक पोखरावाट प्याराग्लाइडिङको शुरुवात गरिएको थियो । एशियाडमा नेपाललाई पहिलो रजत पदक भने सन १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले दिलाउनुभएको थियो ।

प्रतिक्रिया