अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 16:14

एउटा अर्को अभिनय

लक्ष्मी थापा २०७५ साउन २३ गते २०:३५ मा प्रकाशित

जीवनका
यावत् भोगाइहरुलाई
एकातिर थन्काएर
नाट्यशालामा अादर्श पात्रको
अभिनय गर्दागर्दै
बाँचेकी छु अभिनयमा

मरूभूमिको दुष्कर
यात्राभन्दा पनि कठिन
जीवनले बोकेका
निरीह अावाजहरू
आफैँ भित्र थुन्दै
मनका संवेदनाहरूलाइ
बनाइरहेकी छु बन्दी

मानसिक द्वन्द्वमा
रुमल्लिएर
समाजले ओढाएको
अादर्शको खोक्रोपन आत्मसात् गर्दै
म पल पल
अभिनय भित्र
झुठो खुसीको खोजीमा
संकटमा परेको स्वच्छन्दता
फुकाए झैँ गर्छु
मनको स्वतन्त्रता बन्दकी राखेर

हो मौन मौन
आफैँलाइ छलेर
फगत कृतिम ढुकढुकीको
स्पन्दन बोकेर
आकाङ्क्षाहरू निथ्रुक्क भिजाएर
विवस म
किंकर्तव्यविमूढ बन्दै
चुपचाप चुपचाप निमोठ्छु
मनका अावाजहरू
र फेरि सिंगारिन्छु
यान्त्रिक कलाकार बन्न

रंगमञ्चमा उत्रिन नपाउँदै
नेपथ्यबाट उद्घोष हुन्छ
कुशल नाट्यकर्मी रंगमञ्चमा
उत्कृष्ट अभिनयका साथ
अादर्श पात्रको भूमिका
निभाउँदै हुनुहुन्छ ……….

अनि म
यान्त्रिक जीवन घिसार्दै
यथार्थलाइ पुन: दबाउँदै
नाटकै नाटकको कठघरामा
मञ्चन हुन्छु
अनि त्यसै
तालीका बिच दब्छन्
मनका अावाजहरू
दबिएकै अवस्थामा

प्रतिक्रिया