अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

म र मेरोभित्रको सेरोफेरो

लक्ष्मी थापा २०७५ मंसिर २८ गते १०:२६ मा प्रकाशित

म र मेरो
जालोभित्रको यो सेरोफेरोमा
जटिल बन्दै गएको संसारिक मायाजालभित्र
मान्छेको स्वार्थीपन
कसरी सक्छ
अरूको लागि बाटो खनाउन
अरूको खुसी भई बाँच्न

जहाँ हर रोज
बनावटी मुस्कानमा फिजिएका
हर मुस्कानका एक एक आयतन नाप्दै
भित्रभित्रै जालो बुन्न
कति तत्पर हुन्छ मान्छे
हर मुस्कानको मूल्य असुल्न

धितो राखी मन मुटुलाई
कृतिम खुसीको लागि
मस्तिस्कको अस्वस्थ प्रतिस्पर्धामा
दौडिएको जिन्दगी यहाँ
भ्रमको उपाधि जित्न तल्लीन हुन्छ

आफूलाई हिसाब जस्तो
हर निमेषमा जोडघटाउ
नाफा नोक्सान
क्रय बिक्रय जस्ता समीकरण
ताैलिन उद्धत हुन्छ फेरि मान्छे

अनि त्यही मान्छेभित्र
म र तिमी
मेरो र तेरोको परिधि कोरी
मनहरूको सीमा तोकेपछि
कहाँ पाउन सकिन्छ र
निस्वार्थताको भावना
मानवीय कोमलता
र हार्दिकता
फगत देखाउन जोडिएका नाता
सम्बन्धको बक्र रेखा
जटिल र कुटिल बनिदिन्छ

यहाँ मात्र
महत्वकाङ्क्षा विशाल तृष्णा
छातीभरि बोकेर
मान्छे मान्छे भिड्छ
अघोषित युद्ध
र सन्तोष असन्तोषको हार जितमा
तय गर्छ
म र मेरोभित्रको सेरोफेरोमा
भौतिकतामा लादिएको खुसी
आजको मान्छेले !

प्रतिक्रिया