अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

विश्वकप फुटबलको सेमिफाइनलः आज फ्रान्स र बेल्जियम खेल्दै

बिआरटीनेपाल २०७५ असार २६ गते ७:४९ मा प्रकाशित


२६ असार, पोखरा ।
रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।
क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई पराजित गर्दा फ्रान्सले उरुग्वेको चुनौती पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । मंगलबार हुने सेमिफाइनल जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यमा छ । एक पटकको उपाधि विजेता फ्रान्स पछिल्लो पटक सन् २००६ को विश्वकपमा फाइनल पुगेको थियो ।
उता, उत्कृष्ट लयमा रहेको बेल्जियम फ्रान्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ । सन् १९८६ मा चौथो स्थान हासिल गर्नु नै बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो । एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायना जस्ता विश्व फुटबलका स्टार खेलाडीहरुले भरिएको अहिलेको टोलीलाई बेल्जियन फुटबल इतिहासको सुनौलो पुस्ताको रुपमा हेरिएको छ ।
फ्रान्स र बेल्ज्यिमको हेड टु हेड रेकर्ड हेर्दा बेल्जियम बलियो देखिन्छ । यी दुई टोली अहिलेसम्म ७३ पटक आमने सामने भएका छन् । जसमा बेल्ज्यिम ३० पटक विजयी भएको छ भने फ्रान्स २४ पटक विजयी भएको छ । दुई टोली वीचका १९ खेल बराबरीमा टुंगिएका छन् । दुबै टोली उत्कृष्ट फर्ममा रहेका छन् । पछिल्लो २४ खेलमा अपराजित टोली बेल्जियम रुसमा जारी विश्वकप फुटबलका सबै खेल जित्ने एक मात्र टोली हो । फ्रान्सले भने एक खेलमा बराबरी गरेको छ ।
विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा भोलि इङ्ल्यान्ड र क्रोएसिया आमनेसामने हुनेछन् । इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनको चुनौती पन्छाउँदा क्रोएसियाले आयोजक रुसलाई हराँउदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया