अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

समूह चरण पार गर्ने १६ टिम यी हुन, शनिबार फ्रान्स र अर्जेन्टिना तथा उरुग्वे र पोर्चुगल भिड्दै

बिआरटीनेपाल २०७५ असार १५ गते ७:०२ मा प्रकाशित

रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करणमा प्रतिस्पर्धा गर्ने ३२ मुलुकमध्ये समूह चरणको प्रतिस्पर्धा पार गर्दै १६ देश प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

समूह चरणबाटै घर फर्किने टिममा डिफेण्डिङ च्याम्पियन जर्मनीसहितका १६ मुलुक छन् । बिहीबार राति भएको चार खेलसँगै समूह चरणको प्रतियोगिता सम्पन्न भएको हो । नकआउट चरणमा प्रवेश गर्ने १६ मुलुकमा युरोपेली राष्ट्र नै १० वटा छन् भने दक्षिण अमेरिकी चार तथा एसिया र उत्तर अमेरिकी एक एक छन् ।

एसियाबाट जापानले समूह चरण पार गर्न सफल भएको छ भने अफ्रिकी मुलुकहरु कुनैले पनि यस पटक समूह चरण पार गर्न सकेनन् । समूह चरणमा खेल्ने १४ युरोपेली मुलुकमध्ये नकआउट चरणमा प्रवेश गर्नेहरुमा रुस, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विट्जरल्याण्ड, स्वीडेन, बेल्जियम, इङ्ल्याण्ड छन् ।

बाहिरिनेमा आइसल्याण्ड, सर्बिया, जर्मनी र पोल्याण्ड छन् । त्यस्तै, समूह चरणमा खेल्ने पाँच दक्षिण अमेरिका मुलुकमध्ये नकआउट चरणमा प्रवेश गर्नेमा उरुग्वे, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया छन् भने बाहिरिनेमा पेरु मात्रै छ ।

एसियाबाट समूह चरण पार गर्ने भाग्यमानी मुलुकमा जापान मात्रै परेको छ भने साउदी अरब, इरान, दक्षिण कोरिया र अष्ट्रेलिया बाहिरिएका छन् । उत्तर र मध्य अमेरिकाबाट सहभागी तीन मुलुकमा मेक्सिको मात्रै समूह चरण पार गर्न सफल भएको छ भने बाँकी पानामा र कोस्टारिका बाहिरिएका छन् ।

अफ्रिकाबाट सहभागी पाँच मुलुक इजिप्ट, मोरोक्को, नाइजेरिया, ट्युनिसिया, सेनेगल सबै बिदा भएका छन् । प्रिक्वाटरफाइनलका लागि शनिबार पौने ८ बजे फ्रान्स र अर्जेन्टिनाको प्रतिस्पर्धा हुँदैछ भने राति पौने १२ बजे उरुग्वे र पोर्चुगलको प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया