अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

आईपीएलको उपाधि चेन्नाईले जित्यो

बिआरटीनेपाल २०७५ जेठ १४ गते २१:३१ मा प्रकाशित

यो वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ । गएराति मुम्बईमा भएको फाइनलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले तेस्रो पटक आईपीएल उपाधि उचालेको हो ।

जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले अष्ट्रेलियन ब्याट्सम्यान सेन वाट्सनको अविजित १ सय १७ रनसँगै १८ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय ८२ रन जोड्यो ।

वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । ५७ बल खेलेका वाट्सनले ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रन जोडेका हुन् । उनलाई दरिलो साथ दिएका रैनाले २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । उसका लागि केन विलियाम्सनले ४७ रन जोड्दा युसुफ पठानले ४५ रन तथा शिखर धवनले २६ रन जोडेका थिए ।

गएरातिको जितसँगै चेन्नाईले आईपीएल उपाधिमा ह्याट्रिक गरेको छ । म्याच फिक्सिङ र खेल भावना विपरित क्रियाकलाप गरेको आरोपमा टोली निलम्बनमा पुर्नअघि उसले दुई उपाधि जितेको थियो ।

यो सिजन उपाधि जित्दै चेन्नाईले आईपीएल क्रिकेटमा आफू सबैभन्दा बलियो टोली भएको प्रमाण दिएको छ । चेन्नाईसँगको हारले हैदरावादको भने दोस्रो उपाधि जित्ने अभियान अपुरै भएको छ ।

प्रतिक्रिया