अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

अत्तरिया डीपीएलको प्लेअफमा, विराटनगर बाहिरियो

बिआरटीनेपाल २०७४ चैत २५ गते ९:१२ मा प्रकाशित

कैलाली,  दीपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आइतबार पारस खड्का नेतृत्वको विराटनगर किंग्सलाई ६ विकेटले हराउँदै अत्तरिया प्लेअफमा पुगेको हो ।

वर्षाले मैदानमा पानी जमेपछि ६ ओभरमा झारिएको खेलमा पाएको ५६ रनको चुनौती अत्तरियाले २ बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो । ‘म्यान अफ द म्याच’ घोषित भारतीय खेलाडी विपीन चन्द्रले १३ बलमा अविजित २६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन जोडे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ३ विकेटको क्षतिमा ५५ रन बनाएको थियो ।

दिलीपनाथले ९ बलमा अविजित रहँदै १५ तथा अनिलकुमार शाहले १२ बलमा १५ रन बनाए । जितसँगै लिगमा ४ खेलबाट ५ अङ्क जोडेको अत्तरिया प्लेअफमा पुग्दा ४ अङ्क रहेको विराटनगर पाँचौँ स्थानमा रहँदै बाहिरिएको हो । ६ टिम सहभागी प्रतियोगितामा अंकविहीन रुपन्देही च्यालेन्जर्स भने यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

आइतबार हुने तय भएको काठमाडौँ गोल्डेन्स र महेन्द्रगर युनाइटेडबीचको समूह चरणको खेल वर्षाले गर्दा रद्द भयो । दुवै टोली प्लेअफमा पुगेकाले यो खेलले असर पारेन । लिगमा अपराजित काठमाडौँले ५ खेलबाट ९ अङ्क जोड्यो भने समान खेलबाट ६ अङ्क जोडेको महेन्द्रनगर तेस्रो स्थानमा रह्यो । समान ६ अङ्क जोडेको टिम चौराहा धनगढी भने दोस्रो स्थानमा रह्यो । प्लेअफका खेलहरू मङ्गलवार हुनेछन् । पहिलो क्वालिफायर खेलमा काठमाडौँ र चौराहा भिड्नेछन् । सोही दिन इलिमिनेटर खेलमा महेन्द्रनगर र अत्तरिया भिड्नेछन् । 

प्रतिक्रिया