अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

आर्मी उपाधि नजिक

बिआरटीनेपाल २०७४ फागुन २७ गते १९:२४ मा प्रकाशित

 

आर्मीले यो सिजन ६ गोल्डकपको उपाधि जितिसकेको छ । पहिलो संस्करणको विजेता आर्मीलाई झापा गोल्डकपको उपाधिनजिक पु¥याउन राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । अब आर्मीले उपाधिको लागि रमपम झापा–११ को सामना गर्नेछ । झापाले रुस्लान थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै लगातार तेस्रोपटक फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनल खेल सोमबार हुनेछ ।

नवयुगले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै आर्मीलाई अग्रता दिलाएको थियो । आर्मीका गोलरक्षक विकेश कुथुले फालेको लामो बललाई नवयुगले काउन्टर एट्याकमा दोस्रो बार च्याप्दै गरेको भल प्रहार मनाङका गोलरक्षक दिनेश थापा मगरले रोक्ने कुनै मौका पाएनन् ।

४५औं मिनेटमा मनाङका सबै खेलाडी बिट भइसकेको अवस्थामा आर्मीका टंक बस्नेतले खाली पोस्टमा गोल गर्न सकेनन् । मनाङका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई टंकले गरेको प्रहार दोस्रो बारनजकैबाट बाहिरिएको थियो । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको मनाङका लागि खेलको १० मिनेटमा भिक्टोरले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । अञ्जन विष्टको फ्री किकमा भिक्टोरले गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो । २४औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रसपासमा बिमल रानाले डी बक्समा पाएको बललाई फितलो प्रहार गरेका थिए ।

५९औं मिनेटमा विशाल राईको क्रसपासमा अञ्जन विष्टले गरेको हेडर आर्मीका गोलरक्षक विकेस कुथुले उत्कृष्ट रूपमा बचाएर सम्भावित बराबरी टारेका थिए ।

डिफेन्डिङ च्याम्पियन मनाङले पनि पाएका केही सुन्दर मौकालाई गोलमा परिणत गर्न नसक्दा यसपटक सेमिफाइनलबाटै घर फर्किन बाध्य बन्यो । मनाङका दुई सम्भावित गोल रोकेका आर्मीका विकेस कुथु खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया