अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

पार्टी एकतामा धोका हुँदैन: प्रधानमन्त्री ओली

रासस, काठमाडौँ २०७४ फागुन २० गते २१:४० मा प्रकाशित

प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ ।

झापा आन्दोलनका पाँच सहिदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ संकल्पित रहेको बताउनुभयो ।

उहाँले सहिदको योगदानबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उहाँहरूको आकाङ्क्षाअनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधिअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरू रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा लगी हत्या गरेको थियो ।

स्मृति सभामा एमालेका वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली, शहीद परिवारका सदस्यलगायत हुनुहुन्थ्यो । 

सम्बन्धित सामग्रीहरू