अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

नेपालमा पहिलो पटक ‘राष्ट्रिय योग खेलकुद प्रतियोगिता’ आयोजना हुँदै

बिआरटीनेपाल २०७४ पुष २२ गते ६:४४ मा प्रकाशित

नेपालमा पहिलोपटक राष्ट्रिय योग खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ ।  योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल योग खेलकुद संघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

सुनसरीको इटहरीमा आगामी माघ ४ र ५ गते प्रतियोगिता गरिने संघका कोषाध्यक्ष एवं प्रतियोगी छनोट समितिका संयोजक मणिराज कुँवर ‘योगी शान्तिदूत’ ले राससलाई जानकारी दिनुभयो ।

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योग भन्ने प्राचीन ऋषि परम्परा रहेपनि आधुनिक समाजमा शारीरिक व्यायाम विशेषलाई मात्र योगको अर्थमा बुझिने गरेको छ । आठवटै चरण योगका अंग भन्ने प्रचारप्रसार गर्न पनि प्रतियोगिता सहयोगी हुने संघले जनाएको छ ।

आठवटा चरणमा प्रवेश गरेर योग अभ्यास गर्दा व्यक्तिको आचरण र स्वभावमा परिवर्तन हुनुलाई योग भनिन्छ । योगलाई स्वास्थ्यसँग जोडेर विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघलगायतका विश्वव्यापी संस्थाले मान्यता दिएकाले खेलकुदसँग जोडेर पनि प्रचार गर्न खोजिएको आयोजक समितिले जनाएको छ ।

नियमित योग अभ्यासले शरीर स्वस्थ हुने भएकाले आम मानिसमा यसप्रति सचेत बनाउने उद्देश्य प्रतियोगिताको छ । उमेर समूहअनुसार तीन चरणमा प्रतियोगिता गरिने संघका अध्यक्ष डा सूर्यबहादुर कार्कीले जानकारी दिनुभयो ।

पहिलो चरणमा ११ देखि १७ वर्ष, दोस्रो चरणमा १८ देखि ४९ वर्षसम्म र तेस्रो चरणमा ५० वर्षभन्दा माथिकाको छुट्टाछुट्टै प्रतियोगिता हुन्छ । प्रतियोगिताका लागि एकल र समूह दुवै तरिकाले भाग लिन सकिने उहाँले बताउनुभयो । महिला र पुरुषको पनि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिनेछ । प्रतिस्पर्धा उमेर समूहअनुसार नै हुनेछ ।

प्रतियोगितामा १५० समूहसम्मलाई सहभागी गराइने संघले जनाएको छ । संघले गत वैशाखमा दक्षिण एशियाली योग प्रतिस्पर्धा पनि सम्पन्न गरेको थियो । प्रतियोगितामा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशको सहभागिता थियो ।

योग भगवान् शिवले शुरु गर्नुभएको वैदिक मान्यता छ । भगवान् शिवले पहिलोपटक पत्नी पार्वतीलाई योग शिक्षा दिनुभएको उल्लेख पुराण एवं धर्मशास्त्रमा गरिएको छ । विश्वमा ३०० प्रकारका योगका प्रकार प्रचलनमा रहे पनि घेरण्ड ऋषिले ३२ वटालाई बढी प्रचलनमा ल्याएको विश्वास गरिन्छ ।  (रासस)

प्रतिक्रिया