अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

चाडबाडमा विदेशमा छु भनेर गुनासो नहर्नुहोस्

मणि भट्टराई २०७४ कार्तिक २ गते १२:५५ मा प्रकाशित

विदेशमा बस्नेहरू देशको तिहार संझन्छन्
देशकै सहरमा बस्नेहरू गाउँघरको तिहार संझन्छन्
गाउँघरमा बस्नेहरू तिहारमा हुने सहरको रमझम र झिलिमिली कल्पिन्छन् ।

त्यसो भए खासमा सबैभन्दा रमाइलो तिहार कहाँ छ त ?
मलाई लाग्छ – वास्तवमा तपाईँ जहाँ रमाउन सक्नु हुन्छ त्यहीँ छ रमाइलो र रमझम । जहाँ तपाईँ खुसीले मुस्कुराउन सक्नुहुन्छ त्यहीँ छ जीवनको असली दीपावली । यो न गाउँमा छ न यो सहरमा । न देशमा छ न विदेशमा ।

चाडबाड नआए हुन्थ्यो जस्तो गरेर बसेका घरपरिवारहरू गाउँमा पनि कति छन् कति । हुन त सहरमा आर्जन गरेको २-४ पैसा लिएर चाडबाडमा गाउँ पस्न पाए मोज गरिन्थ्यो या विदेशमा दुख गरेको २-४ डलर लिएर देशमा जान पाए रमाइलो गरिन्थ्यो भन्ने हुनसक्छ । त्यसरी २-४ दिन रमाइलो गर्न पनि सकिएला । तर यसै मानेमा गाउँ रमाइलो, देश रमाइलो भनिहाल्न पनि सकिँदैन । पैसा सकिएको दिन गाउँमा तोरीको फुल देखिन्छ । पैसा सकिने विक्तिकै देशले भोलिपल्टै विदेश लखेटि हाल्छ । अनि विदेशमा आएर देश मिस गरेको विलौना गरेर वित्छन् नौ जवानका रातहरू । श्रीमती मिस हुन्छन्, श्रीमान् मिस् हुन्छन् । प्रेमी प्रेमिकाहरू मिस् हुन्छन् । गाउँको ढुँगेधारो, नजिकैको चियापसल मिस हुन्छ । तर खासमा तिनै कुराहरूले लखेटेका हुन् विदेश । यो हत्पपत् थाहा हुँदैन । श्रीमतीले नै भनेकी हुन् बरु त विदेश जानुहोस् भनेर । आमालेनै भन्नु भएको हो २-४ वर्ष बसेर आइज भनेर । आवश्यकताले लखेटेपछि सबैका सल्लाह सुन्नु परेको हो र उड्नुपरेको हो देश छोडेर ।

तपाईँ विदेशमा नहुनु हो भने देशमा चाडबाड आउन मुस्किल छ अब । अनि चाडबाडमा विदेशमा छु भनेर किन गुनासो गर्नुहुन्छ ? तपाईँ विदेशमा नहुनु हो भने तपाईँको घरमा तिहारमा सेलरोटी नपाक्न सक्थे । दीपावलीमा घरमा क्यान्डिल नबल्न सक्थे । तपाईँ विदेश भएर नै हो देशमा दीपावली झिलिमिली भएको । यही योगदानलाई सम्झेर मज्जाले रमाउनुहोस् । आनन्द लिनुहोस् । यही आत्मसन्तुष्टिमा रमाउनुहोस् । तपाईँ यता हुनुहुन्छ र त देशमा चाडबाड आइरहेका छन् त । आफ्नो मन भित्र यही सन्तुष्टिको दीपावली गर्नुहोस् । जहाँ भए पनि मज्जाले तिहार मनाउनुहोस् , देश विदेश या गाउँघर ।

यहाँहरू सबैमा शुभकामना !