अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 16:24

आत्महत्या विक्षिप्त मनोदशाको एक चरमरूप

मणि भट्टराई २०७४ फागुन १५ गते ९:३० मा प्रकाशित

बढी भावुक, इगो र ठूल्ठूलो महत्वकांक्षा भएको मान्छेमा इगो हर्ट भएपछि पनि आत्माहत्याको परिस्थिति सिर्जना हुनेरहेछ ! हार्न जानिएन भने जीवनमा जित्न पनि नसकिने रहेछ ! संसार डेरा हो । यो क्षणिक समयमा आफूलाई नै र आफ्ना इच्छा र महत्वकांक्षालाई नै केन्द्रबिन्दु बनाएर नदगुरौं । परिवार छ । छोराछोरी छन् । आँखिर राकेश काफ्लेले जीवनमा यी कुनै देखेनन् । हामीलाई स-साना लाग्ने कुरा भित्र पनि जीवनको विराट सुन्दरता हुनसक्छ भन्ने कुरातिर ध्यान दिन सकेनन् । ऊनी आफू भित्रको अँध्यारो बढ्दै गएर उनलाई छोप्यो । अघि जान केही देखेनन् र आत्महत्या गर्न पुगे । डिप्रेसनले लग्यो ।

डिप्रेशन अक्सर ती मान्छेहरूलाई बढी हुन्छ जो आफूमा नकारात्मक भावना पैदागराउने मान्छे या आफूलाई मन नपर्ने कामबाट जीवनमा मुक्त हुन सक्दैनन् । ती कुराहरूलाई इग्नोर गर्न सक्दैनन् । हामीले गर्न सक्ने सहयोग भनेको राकेशलाई पजिटिभ भाइव दिन सक्नु थियो । त्यो दिनको निम्ति राकेशले भरोसा गर्न लायकको कोही आफन्त या साथी हुन सक्नुपर्थ्यो जोसँग राकेश मन खोलेर रुन सकुन् – उनीसँग त्यो पनि कोही रहेनछ ! ‘जस्तो युद्धबाट हारेर घाइते आएको छोरालाई आमाले काखमा टाउको राखिदिन्छिन्, कपाल मुसार्छिन र लाडप्यारले चुम्बन गर्छिन् या श्रीमतीले छातीमा राखेर सब ठिक हुनेछ भनेर आँसु पुछिदिन्छिन् ।’ (यसो भनेर मैले राकेशका श्रीमती या आमाप्रति शङ्का गर्न खोजेको हैन । यो एक उदाहरण मात्र हो ।) 

हाम्रो भावना नै यस्तो हुन्छ कि कसैले माया गरोस् या हमेसा कहीँ कतैबाट सहानुभूति मिलोस् भन्ने भइरहन्छ । अझ डिप्रेसनको बिरामीमा त संसारप्रतिको मूल्यबोध शून्य हुँदै गइरहेको हुन्छ । अनेक महत्वकाँक्षा बोकेर हिँडेको मान्छेको मन न हो – कहीँ कतै ठोक्किएर झर्याम्म भइरहेको हुनसक्छ । यसर्थ हामीले बुझ्नु पर्छ कि यो सास्वत सत्यबाट हामी भाग्न सक्दैनौ । राकेश त गई गए नै, तर हामीले पनि आफ्ना अहम्हरूको नियन्त्रण गरेर अघि बढ्न खोज्नुपर्छ । किनकि अन्धता सधैँ हामीलाई च्यालेन्ज गरेर बसिरहेको हुन्छ ।

एउटा झ्याल बन्द भयो भने अर्को खोलेर हेर्दा अर्कै क्षितिज देखिन सक्छ । संसार बुझेँ भनेर आत्महत्या गर्नेहरूले खासमा संसारलाई एउटा अन्धकार डट मात्र देखेका हुन्छन् । कोही त्यस्तो अवस्थामा छ भन्ने बुझियो भने हामीले वेलैमा सहयोग गर्नुपर्छ । राकेशसँग मेरो पछिल्लो समय उस्तो सम्पर्क थिएन । गीतकार राकेश केही गरौँ भन्ने भावनाका मान्छे हुन् तर उनको कमजोरी भनेको हार्न नजान्ने नै हो । हार्न नसक्ने मान्छेलआई परिस्थितिले हराइदिए पछि डिप्रेसनको जन्म भयो । अर्थात् घृणा, ईर्ष्या, बदला, प्रतिस्पर्धा , रिस , घात, धोका, र अविश्वासले भरिएको संसारलाई एउटा स्रष्टा भएर पनि राकेसले बुझ्न सकेनन् या बुझेर पनि स्वीकार्न सकेनन् । जीवनमा सिक्नुपर्ने पाठहरूलाई स्वाभिमानमा लागेको धक्काको रूपमा मात्र बुझिदिए पछि त्यसले झन् विकृत रूप धारण गर्‍यो । फलत: आज हामीबीज राकेश छैनन् ।

जे भए पनि यो विश्लेषणको अब साहित्यकार राकेशको जीवनमा केही अर्थ छैन । तर यो हाम्रो निम्ति र अरूहरूको निम्ति केही उपयोगी सन्देश हुनसक्छ । स्रष्टा राकेशको आत्मालाई शान्ति मिलोस् !