अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

सरकार सरकार होस्

मणि भट्टराई २०७४ चैत २१ गते १२:०४ मा प्रकाशित

जनता जब पीडित हुन्छन्, चौतर्फी न्याय माग्दा पनि पाउँदैनन् , जब ती असहायहरूको आवाजलाई सेटिंग मार्फत मिलाउन खोजिन्छ, तर्साउन, हप्काउन र दबाउन खोजिन्छ – अनि त्यो जनताले रवि लामिछानेलाई सम्झिन्छ । रवि लामिछाने यसै हिरो भएका हैनन् । राज्यले त्यो अवसर र चुनौती उनलाई दिएको छ ।

केसम्म भन्न सकिन्छ भने खासमा देशमा अहिले दुईवटा सरकार छन् । जनताले भोट दिएर जिताएर पठाएको तर विश्वास गर्न नसकेको राष्ट्रिय सरकार र जनताको भावना र विश्वास दुवै जितेको रवि लामिछानेको सरकार । यसैले त जनताहरू न्याय नपाए रवि लामिछानेकहाँ जान्छन् ।

मेरो आशय के हो भने – सरकारले यो परिदृष्यबाट के सिकोस् भने -साँच्चिकै सरकार हुन भोटमा जितेर सत्ता अँठ्याएर मात्र हुँदैन रहेछ, जनताको विश्वास र भावना पनि जित्नु पर्ने रहेछ । जनतालाई सरकारबाट न्याय पाइन्छ भन्ने भरोसा दिन सक्नु पर्ने रहेछ । सच्चा विधि र न्यायको शासनको खोजीमा युगौंदेखि तड्पिरहेका नेपाली जनताहरूलाई पुलिसप्रसासन र सम्बन्धित सबै निकायमा सुधार गरेर विधिको शासनको आभास दिनु र रवि लामिछानेको सरकारलाई (भाव परक सरकार) राष्ट्रिय सरकारमा विलय गर्न सक्नु आजको सरकारको सबैभन्दा गम्भीर चुनौती हो ।

सरकार र जनता बिचको अविश्वास मेटाउने एउटै तरिका भनेको जनतालाई न्यायोचित वातावरण दिएर जनताको मन जित्नु नै हो । कातिन्जेल जनताले एउटा पत्रकारको सहारा लिइरहने ? कातिन्जेल रवि लामिछानेहरूले निमुखाहरूको आवाज बोलिरहने ? सरकारले साँचीकै सरकार हुन सक्ने कि नसक्ने ? यतिधेरै हत्या, हिंसा,भ्रस्टचार, दलाली, बलात्कार राज्यको नजरबाट जोगिएर हिँड्नु र अखबारले देखाएपछि मात्र राज्यले देख्नु सरकारको निम्ति लज्जाबोधको विषय बनोस् । केही गरोस् सरकारले । सरकार सरकार होस् ।