अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 13:21

मुख प्रायः सबैसँग छ तर आवाज कमैसँग मात्र छ

मणि भट्टराई २०७५ असोज ५ गते २३:०९ मा प्रकाशित

मुख प्रायः सबैसँग छ
तर आवाज कमैसँग मात्र छ ।

#एक
कोही यस्ता छन् जो आवाज निकाल्ने हिम्मत गर्दैनन्, तर कोठामा बसेर अरूले निकालेको आवाजको विश्लेषण भने गरिरहन्छन् । यिनीहरूको सौभाग्य मान्नु पर्छ कि देशका क वर्गका विद्वान्हरूमा यिनीहरू नै पर्छन् ।

#दुई
कोही छन् जो आवाज सुन्न मन पराउँछन् तर बुझ्न होइन । सकेसम्म तथ्यहरू सङ्कलन गरेर बस्नु यिनीहरूको रुचिको विषय हो ।

#तीन
एउटा वर्ग छ जो सधैँ आवाज देखि डराउँछ र आवाज निकाल्नेहरूलाई एक एक लान्छनाको माला भिराई रहन्छ ।

#चार
अर्को छ – मानौँ खाने र पचाउने बाहेक उसको पेसा अरू छैन , तर भाषण गर्दा भन्छ – ढुक्कले काम गर्न दिनु पर्छ र पो परिणाम देखिन्छ । यिनको कामको परिणाम के होला आफै अनुमान लगाउनुहोस् । उसलाई पनि आवाज मन पर्दैन ।

#पाँच
अर्को छ – यो सब रमिता हेर्छ र हाँस्छ । भाइरल हुन्छ भन्ने लाग्यो भने भिडियो पनि लिन्छ । तर ऊ बोल्दैन । अरू बोलुन् भन्ने ठान्छ । गाली गलौज र वाद विवाद पढेर रमाउँछ ।

#छ
अर्को छ यो सब भद्रगोल हेर्छ र दुखित हुन्छ । तर आवाज भने निकाल्न सक्दैन । ऊ आफ्नै आवाजसँग डराउँछ । उसलाई पनि अरू नै बोलिदिऊँ भन्ने लाग्छ ।

#सात
अर्को छ – कसैले निकालेको पीडाको आवाजलाई सिकार गर्छ र आफ्नो बनाउँछ । त्यसलाई राजनीतिको रङ्ग दिन्छ र सत्ताधारीसँग मोल मोलाई गर्छ । केही हात लाग्यो भने त्यो मुद्दालाई छोडेर बिस्तारै पछि सर्छ नत्र अर्को इलेक्सनसम्म त्यो कुरा बोकेर हिँडिरहन्छ । आफूलाई फाइदा हुने कुरामा अरूको आवाज उचाल्छ तर साँचिकै आवाज विहीनहरूको आवाज यसले पनि कहिल्यै निकाल्दैन ।

#आठ
अर्का थरी छन् आवाज विहीनको आवाजको निम्ति सङ्घसंस्था नै खेलेर बसेका । यिनीहरू छेपारो भन्दा धेरै बडो अचम्मसँग रङ्ग फेर्छन् । मानौँ यही विशिष्ट कला नै यिनीहरूको पेसा हो । त्यही कुरामा एउटाको अधिकार हनन भयो भनेर फुदो पड्किने गरी कराउँछन् त त्यही मुद्दामा अर्कोलाई देखे जस्तो पनि गर्दैनन् । मनोमोजी हुन्छन् यिनीहरू । यिनीहरू पनि राजनीति नै गर्छन् तर सत्ताको निम्ति होइन पैसाको निम्ति सायद । यी अनाथको आवाज बोल्न खोलिका भए पनि सारमा शक्तिशालीहरूलाई गहुँत छर्केर चोख्याउने सेन्टर जस्ता लाग्छन् । यिनीहरू पनि आवाजको व्यापार नै गर्छन् । स्वयम्मा आवाज हुने गरेको खास देखिँदैन ।

#नौ
अर्को महत्त्वपूर्ण थरी छन् । सूचना भन्दा धेर अफ़वाह बाँड्छन् । आवाज भन्दा धेर हल्ला छाप्छन् । पैसा कमिन्छ भने त्यही न्युज सय पटक पनि लेख्छन् । पैसा कमिंदैन भने त्यो भन्दा महत्त्वपूर्ण कुरा एक पटक पनि लेख्दैनन् । बोल्दैनन् । एउटालाई भाइरल बनाउँछन् र सय जना नै त्यसको पछि होहल्ला गर्दै दगुर्छन् । असली आवाज बोक्ने हिम्मत र क्षमता यिनीहरूले गुमाउँदै गइरहेका छन् । रत्यौलीको मजामा कसको बिहे हो भन्ने कुरा नै भुले जस्तो अवस्थामा छन् ।

#दश
अर्का थरी छन् जो देशको हैन ठूलाबडाको सुरक्षामा आफ्नो देश सेवा कर शपथलाई बलि दिइरहेछन् । आवाजलाई बुट र बुलेटले दबाउन सकिन्छ भन्ने कल्चरबाट यो समूह अझै मुक्त हुन सकेको छैन । भलै डेमोक्रेसीले जनताको आवाजलाई सुन्नुपर्छ भन्छ ।

त्यसो त अरू पनि धेरै चरित्रहरू छन् जो आवाजलाई एलर्जी नै सम्झन्छन् । तर संसारमा जिउँदो केही छ भने त्यो हो # आवाज ।