अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

न त बालाई आकाश भन्छु, न त आमालाई धर्ती भन्छु

मणि भट्टराई २०७५ भदौ २४ गते ९:४८ मा प्रकाशित

जन्मिनेहरू जन्मिए र एउटा पुरुषलाई ‘बा’ बनाइ दिए । यसैको शृङ्खला मेरा हजुर बा हुन्, बा हुन् र यसमा कुनै हाँगो भएर अब म पनि जोडिन आइ पुगेको छु । हजुरबाले पनि आफ्नो भूमिका निभाउनु भयो । बाले पनि अहिले ७९ वर्षको उमेरसम्म निरन्तर बा हुनुको भूमिकामा कुनै कमजोरी नराखी आफ्नो कर्तव्य निर्वाह गरिरहनु भएको छ । शायद सन्तानको निम्ति चाहिने भन्दा बढी दु:ख पनि गर्नु भएको होला । उसरी नै सन्तानको भविष्यको बारेमा चिन्ता पनि लिनु भएको होला । हुनसक्छ बा हुनुको धर्म नै यही हो । बाको विशेषता भनौ या गुण नै यही हो । म पनि अहिले कर्तव्यको उही मियोमा उसरी नै नारिएको छु । आफ्नो जीवन चक्र पुरा गर्न कर्तव्यको निम्ति उसरी नै जीवनको चर्खामा सामेल भएको छु ।

मलाई लाग्छ बा को दिवस मनाउनु भनेको बाको आरती गाउनु मात्र हैन, वर्तमानमा बाको भूमिकामा उभिएकाहरूले आफू असल बा बनेर देखाउन सक्नु पनि हो । आफू आफ्ना सन्तानको निम्ति असलमा बा हुन सकिएन भने आफूले आफ्ना बाको मात्र गुण गान गाउनुको पनि कुनै औचित्य रहँदैन । असलमा आफ्ना दिवङ्गत बाको स्मरण गर्नु भनेको पनि बाको जीवन पद्धतिलाई अनुसरण गर्नु पनि हो ।

म न त बालाई आकाश भन्छु, न त आमालाई धर्ती भन्छु । न त छोराछोरीलाई त्यस्तै अरू केही भन्छु र कुनै वाक्यको पूर्ण विराम गर्छु र त्यही कतै मनोशान्तीमा रोकिन्छु । न त बा आमा भनेका सृष्टि कर्ता हुन् भनेर त्यो पगरी बा आमालाई लगाइदिन खोज्छु न त बा हुनुको अर्थमा आफै गला थाप्दै हिँड्छु । मलाई बस् यति लाग्छ, हरेकले आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्छ । हरेकले आफ्नो दायित्व स्विकार्न सक्नु पर्छ । यति गरियो भने जिन्दगी सधैँ दिवस मनाइरहन योग्य हुनेछ । धर्ती सोचेभन्दा अझ बढी सुन्दर हुनेछ ।

देशका जन प्रतिनिधिहरू पनि देशका निम्ति बा सो सरह नै हुन् । उनीहरूले जनतालाई बाले जस्तै माया गरिदिएर जनताको भविष्यको बारेमा सोचिदिए भने उनीहरूले पनि जनताबाट छोराछोरीको जस्तै माया पाउने छन् । नत्र नेताहरूले आफ्नो स्वार्थको निम्ति बैँसको रौनकमा पोइल गएर आफूलाई अलपत्र सडकमा छोडेर जाने आमा या दोस्री, तेस्रीको चक्करमा मुसाले जस्तो स्वास्नी ल्याएर आफ्नो यौन सन्तुष्टिको खेती गर्ने बालाई मर्दा पिन्ड पनि दिन नमानिरहेका छोरा छोरीका हातहरू सम्झनु पर्ने हुन्छ । आज जनताले नेतालाई गरिरहेका गालीहरूले त्यसैको सङ्केत गर्दछ ।

यसर्थ कोही पनि आफ्नो कर्तव्य र धर्मबाट विचलित नभई आफूले आफ्नो स्थानबाट अरूलाई दिनुपर्ने सेवाबाट पछि हटेनौ भने मात्र असलमा हामी जीवनमा आउने कुनै पनि दिवसको निम्ति योग्य हुनेछौँ । सधैँ भन्दै आइरहेको कुरा एक पटक फेरी – आफ्नी अमाको पूजा गरिरहँदा कतै छोराछोरीकी आमालाई अत्याचार त गरिरहेका छैनौँ ? आफ्नो बाको तारिफ गरिरहँदा कतै छोराछोरीका बालाई सताई रहेका त छैनौँ ? यदि त्यसो हो भने हामीले यो ढोँगलाई स्विकारेर आत्म सुद्दिकरणको बाटो पहिल्याउनै पर्छ ।