अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

लालबाबुलाई प्रश्न: प्रवासी नेपालीहरूको अपराध के हो ?

मणि भट्टराई २०७४ चैत १९ गते १७:०६ मा प्रकाशित

मलाई पूर्व मन्त्री लालबाबु पण्डितले अमेरिकाको राष्ट्रपतिको चुनावमा ६० हजार नेपालीले भोट हालेको सन्दर्भ उप्काएर दिएको अभिव्यक्ति सुन्दा उहाँलाई बिचरा भन्न मन लगेर आयो | यस पटक मैले लालबाबुलाई आफ्नो गाउँमा चारआनाको काम गर्न नसक्ने अरूलाई मात्र गाली गरेर हिट हुन खोज्ने छुद्र बोली भएको मान्छेको रूपमा देखेँ | निरन्तर रूपमा अमेरिका, युरोप, अस्ट्रेलिया र क्यानडा गएका मान्छेमाथि सधैँ नकारात्मक कुरा गरेर लालबाबु खनिनुको रहस्य के हो त ? अचम्म लागिरह्यो । जबकि एनआरएन संवैधानिक रूपमै स्वीकारिएको विषय छ ।

मेरो विचारमा उहाँले प्रवासी नेपालीहरूलाई ‘भूपु नेपाली’ भन्दै बच्चा जस्तो कुरा गर्नुभयो । विदेशको नागरिकता लिए पछि, विदेशी पासपोर्ट बोकेपछि स्वतः: राजनैतिक रूपमा विदेशी नै त भयो त । मातृभूमि मात्र नेपाल हो । यो कुन बडो कुरा हो र ? उहाँले अरू भुत्लोभांग नजानेर हो कि के हो जम्माजम्मी युरोप अमेरिका अस्ट्रेलिया र क्यानडामा बस्नेहरूलाई गाली गरेर हिट हुन खोज्नुहुन्छ। उहाँमा धनीलाई गाली गरेर कम्युनिस्टहरू हिट भएझैँ अहिले विदेसिएका नेपालीलाई गाली गरेर हिट हुन सकिन्छ भन्ने गहिरो भ्रम छ । उहाँले जे भन्नुभयो त्यो भन्नु नै पर्दैन, नभने पनि त्यही हो । यो कुनै नयाँ कुरा हुँदै होइन । लालबाबुले यसरी लगातार प्रवासी नेपालीहरूप्रति खनिने गरेको २-३ वर्ष भयो । यस मामिलामा उहाँ मानसिक रोगी नै हुनुहुन्छ कि क्या हो जस्तो लाग्न थालेको छ |

‘बेदेशमा गएर नेपाललाई सराप्ने नेपालीहरू’ भन्दै लालबाबुले कपोलकल्पित धारणाको निर्माण गरेर विदेशी भूमिमा रहँदै आएका नेपालीहरूप्रति आफ्नो कलुषित भावना पोख्नुभएको छ | मेरो प्रश्न -विदेश गएको त्यस्तो कुनै एक मात्र पनि नेपाली छ होला कि जसले नेपाललाई सरापोस् ? सराप्नु भनेको के हो ? कसैले लालबाबुलाई ट्युसन पढाओस् । त्यसो त उहाँको क्षमता भए पार्टीमा उहाँले कुनै न कुनै उच्च तहको हैसियत राख्ने थिए कि ? प्रवासी नेपालीहरूलाई के गर्नु पर्छ उहाँले उहाँकै नेताहरूलाई भनुन् । नेकपा एमालेमा एउटा धारणाको निर्माण गरून् | सांसदबाट कानुन बनाउन् |के कस्ता बन्देज लगाउनु पर्छ लगाउन् । सके विदेशी नागरिकता लिएका नेपालीलाई देशमा छिर्नै नदिने कानुन बनाउन पनि उनी स्वतन्त्र छन् । जे गरून् त्यो देशको सिस्टममा गरून् । नत्र यसरी बाहिर बाहिर कराएर आफ्नो अज्ञानता सस्तो मार्केटमा बेचेर मात्र केही हुनेवाला छैन | अरू पनि छन् विषयहरू |सिमासुरक्षाको बारे बोलुन् । हरेक चोटि भारतसँग भएका कुटिल सम्झौताको बारेमा जानकारी राखुन् । सांसदलाई बढाएको भत्ताको बारेमा बोलुन् । तर यसरी तित्राको जस्तो मुख बनाएर नेता जस्तो मान्छेले सधैँ विषबमन गर्नु शोभादायी हुँदैन ।

देखियो र सुनियो पनि बिबिसीबाट प्रसारित साझा सवाल कार्यक्रममा । “आफ्नै जिल्लाको सभासद् भएर आफ्नै गाउँका स्कुल नगएका हजारौँ बालबालिकाको बारेमा पत्तोफाँट नहुने मान्छेसँग अमेरिकाको राष्ट्रपतीय चुनावमा कति नेपालीले भोट दिए भन्ने तथ्याङ्क छ।” अर्काको खेदो खन्नु भन्दा आफ्नो कोदालो खनेको राम्रो ! बरु पण्डितले आफ्नो यो क्रान्तिकारी सोच गाउँका नानीहरू स्कुल पठाउने तिर लगाएदिए उत्तम हुने थियो । आवश्यक परे तीनै साठीहजारलाई सहयोगको निम्ति प्रेममय भाषामा सहयोगको आह्वान गरे बरु बेस हुने थियो । कसैको दानापानी कसैले खाएको छैन । हरेकले आफ्नो अधिकारको प्रयोग गरेका हुन् र छन् । बिदेसिनेहरू मानवीय स्वतन्त्रताको उपभोग गरेरै बाहिरिएका हुन् | सके कुनै पनि नेपाली देश छोडेर विदेश जानै नपाउने नियम बनाए पनि हुन्छ । तर अनावश्यक कुराहरूमा यसरी चिच्याउनुको कुनै अर्थ छैन जस्तो लाग्छ | लालबाबुजी आफ्नो काम गर्नुहोस् । आफ्नो गाउँ हेर्नुहोस् पहिला | धुर्मुस सुन्तलीले गरेको काम पनि सबै सहयोगबाटै भएको हो । नत्र यसरी रन्थनिएर मात्र काम छैन ।

नेता भएर कुवाको भयागुत्तो जस्तो हुनुहुँदैन भन्ने मेरो मान्यता हो । अहिले संसारभर संसारभरका मान्छेहरू फैलिएका छन् । सबैभन्दा बढी त चाइनिजहरू नै छन् अमेरिकामा । इन्डियनहरू उति नै धेर छन् । जापनिजहरू कति छन् कति । युरोपियनहरू पनि प्रशस्त छन् । के तीं देशका मान्छेहरू अन्यत्र जाँदैमा ती देश रोकिएका छन् ? मुख्य प्रश्न त के भने- के नेपालमा बेरोजगारहरूको सङ्ख्या कम छ ? हिजो मात्र हैन उहाँकै एमाले सरकारले वेरोजगार युवा भत्ता कार्यक्रम ल्याएको ?

के घात गरेका छन् प्रवासी नेपालीहरूले नेपाल भूमिमा ? अपराध के हो तिनीहरूको जसले लालबाबुहरूलाई उफार्छ ? किन तात्छ लालबाबुहरूको दिमाग प्रवासीहरूको विरुद्धमा ? विदेशमा विधिको शासन देखेर नेपालमा पनि केही सिस्टम भए हुनेथ्यो भन्ने आशय मातृभूमिप्रति हुनुलाई श्राप भनिन्छ ?

किन प्रवासी नेपालीहरूबाट सबैभन्दा त्रसित हुनुहुन्छ लालाबाबु ? किन त्रसित हुनुहुन्न दशगजातिर हेरेर ? यो उहाँको कोसँगको प्रतिशोध हो ? किन त्रसित हुनुहुन्न उहाँ सीमामा सित्तैमा बाँडिएका नागरिकताहरूप्रति ? किन त्रसित नहुनु भएको होला बेचिएका खोलानालाहरूप्रति ? लालबाबु पण्डितलाई किन दुख्दैनन् आफ्नै गाउँमा बोक्सीको आरोपमा जलाइएका निर्दोष नारीहरू ? आफूलाई नै भोट दिएर जिताउने जनताहरूको गल्लीमा किन नाक थुनेर हिँड्नु परिरहेछ लालबाबुहरूले ? एउटा चर्पी बनाउन आफ्नै भोटरहरूलाई बुझाउन नसक्ने मान्छेले विदेसिएकाहरूलाई गाली गरेर चर्चा बटुल्न खोज्दा मात्र हुन्छ ? पहिला कम्तीमा आफ्नो कटु माथि तानेर अरूलाई अर्तिदिन उनलाई मेरो विनम्र अनुरोध छ । 

को अमेरिका, अस्ट्रेलिया या युरोप गयो यसमा ईर्ष्याले आफ्नो दिमागको दाबा तताउने काम गर्नु उचित होइन । पचासौं लाख मान्छे खाडी र मलेसियामा छन् । सक्नुहुन्छ भने तिनको पहिला उद्धार गर्नुहोस्। ती राज्यको पहिलो प्राथमिकतामा हुनुपर्छ । युरोप अमेरिका तिर जानेको बारेमा जलेर रोइहाल्नु पर्ने अवस्था छैन । जो बढी पीडामा छ सके उसका बारेमा बोल्नुहोस् । उद्धार गर्नुहोस् उनीहरूलाई | ती मन पावरको नामले चिनिने मानव बेचबिखनका अड्डाहरू बन्द गरेर देश भित्रै उध्योगधन्दा सञ्चालन गर्नुहोस् । बाटो खन्न सुरु गर्नुहोस्। बिजुली निकाल्न सुरु गर्नुहोस् । छ केही योजना ? बरु हामी पसिना बेचेर भए पनि, निन्द्रा बेचेर भए पनि, अरू त के अलिकति रगतै बेचेर भए पनि आफ्नो ठाउँबाट मातृभूमिको उद्धारमा सहयोग गर्न तयार छौ । उप्रान्त सस्तो लोकप्रियताको निम्ति खुबै राष्ट्रबादी देखिन सर्बसाधरणको आँखामा छारो हान्नेकाम गर्न जथाभाबी बोल्नेकाम बन्द गर्नुहोस् । बिदेशिनेलाई बोलाउन भन्दा विदेशिन लाग्न आटेकालाई रोक्न सजिलो हुन्छ । पहिले त्यो काम गरेर देखाओस् सरकारले । र त्यस्तो काम गर्न दबाब दिउन् सरकारलाई देशका मै हुँ भन्ने बुद्धिजीवी, विचारक, विश्लेषक र राजनीतिज्ञहरूले ।विदेशको हरेक नागरिक त्यसैको तीव्र प्रतीक्षामा छ ।

मातृभूमिलाई आवास्यक परे हामी जुनसुकै बेला आउन तयार छौँ तर बन्दुक बोक्न भने होइन | र यस्तै सस्ता कुरामा उफ्रिएर ताली पड्काउन पनि होइन | हरेक कुराको एउटा सीमा हुन्छ | हामी नै हौ लालबाबुका उचित कदमको समर्थनमा लेख्नेहरू | यसर्थ उहाँको कमजोरीमा पनि लेख्नु पर्छ भन्ने बोध हामीलाई भएको छ | सस्तो लोक प्रियता होइन दूरदर्शी र सभ्य नेताले मात्र देशलाई एउटा गति दिन सक्छ | दुई चार दिन एक दुई झुन्डलाई उचालेर पत्रिकामा फोटो छपाएर चर्चित हुन त जातीय सिनो बोकेर हिँडेका आन्काजीहरू नै काफी छन् | मधेस टुक्र्याउँछु भन्ने सिके राउतहरू पनि छन् | तर चरम निराशाले थिचिएर आफै केही सोच्न नसक्ने भएका बेरोजगार नेपाली नागरिकहरूलाई यस्ता अनुत्पादक, असान्दर्भिक, र नकारात्मक असर उत्पादन हुने विचारहरू बाँडेर लालबाबु जस्ता नेताहरू प्रतिसोधात्मक रूपमा उभिनु राम्रो सङ्केत होइन | उक्लिन गाह्रो हुन्छ, झर्न उतिनै सजिलो हुन्छ | लालबाबुजी, बिचार गर्नुहोस् -अनावश्यक रूपमा हिरो हुन खोज्दा किरो भएका मान्छेहरू धेरै नै छन् | एकचोटी राम्रो गरेर मात्र हुँदैन, राम्रो भई रहन सक्नु पर्छ | नकारात्मक बिचार सधैँ बिकिरहँदैन | अन्ततः: सकारात्मक कुरा नै बिक्ने हो समाजमा |

हुन त रातारात कसैलाई देवत्वकरण गर्ने र उसले भनेका कुरालाई देववाणी ठानेर त्यसको पछि दगुर्ने चलन लोकतन्त्र पछि पनि फेसन नै बनेको छ । तर राम्रा कामको र राम्रो भनाइको समर्थन गर्न सके पनि जस्तो सुकै अभिव्यक्तिलाई देववाणी ठानेर त्यसको पछि ताली पिट्न भने सकिँदो रहेनछ । मैले जे भने पनि हुन्छ भन्ने अहम्ले नै मान्छेलाई तल झार्दै लैजान्छ । तत्कालीन बजारमा जे बिक्छ त्यही बेच्नेहरू असल राजनीतिज्ञ हुन सक्दैनन् । जनताको निराशालाई जता पनि प्रयोग गरेर क्षणिक चर्चा बटुलेर मात्र हुँदैन । म के भनिरहेको छु र त्यसले दीर्घकालीन रूपमा शैदान्तिक र व्यवहारिक दुवै रूपमा के अर्थ राख्न सक्छ भन्ने कुरा भन्नेलाई थाहा नभए पनि अहिलेका मानिसहरूमा त्यसलाई बुझ्नसक्ने क्षमताको वृद्धि हुँदै गइरहेको छ ।

माफ गर्नुहोस् लालबाबु पण्डित, मैले यो गाली गरेको होइन । यो तपाईँको प्रवासी नेपालीप्रतिको पटक पटक आइरहने प्रतिशोधात्मक अभिव्यक्तिप्रति तपाईँको आवेगलाई लक्षित गरेर प्रस्तुत गरिएको एक करेली मात्र हो । खासमा प्रवासी नेपालीहरूको गल्ती के हो ? के घात गरे उनीहरूले नेपाल आमाप्रति ? हामीलाई गाली त गर्नु हुन्छ, ठिकै छ, सहुँला । तर किन हरेकदिन अरब,क़तार, मलेसिया र भारतका विभिन्न सहरहरूमा देशका लाखौँ नौजवानहरू रोई रोई बाँच्न अभिषप्त हुँदा पनि उनीहरूको पक्षमा त्यसरी बोल्नु हुन्न जसरी हाम्रो विरुद्धमा उर्लिनु हुन्छ ? के हो यसको रहस्य ? किन एयर्पोर्टमा भित्रिने लासमा समेत भइरहेको राजनीतिमा चुपचाप बस्नु हुन्छ ? किन लुटिन्छन् अरबबाट ल्याएका श्रमिकहरूका सामानहरू आफ्नै मुलुकमा ? किन तपाइकै गाउँमा स्कुल सुनसान छ ? किन जलाइन्छन् बोक्सीको आरोपमा छिमेकी आमाहरू ? किन वर्जित गरिन्छ तपाईँको समाजमा सबै मान्छेलाई एकै इनारको पानी खान ? किन हरेक सितलहरले तपाईँको गाउँमा लासहरूको खेती गरिरहन्छ ? किन खस्दैनन् त्यसमा तपाईँका आँसुहरू ? किन भत्किन्छन् हिजो बनाएका सडकहरू आज तपाईँको बस्तीमा ? के यी प्रश्नहरू गर्नु नै हाम्रो गल्ती हो ? मानवताको हिसाबले पनि यी प्रश्नहरू त हामी गरिरहन्छौँ । तपाईँलाई यी प्रश्नहरूसँग नै आपत्ति हो भने फेरि पनि माफी चाहन्छु । तर प्रश्नहरू भने निरन्तर जारी रहनेछन् । हामी सरापेका छैनौ । यी प्रश्नहरू हाम्रा पनि आफ्नै पीडाहरू हुन् । तपाईँको झुटो आरोपको बाबजुद पनि मातृभूमिप्रति हाम्रो निरन्तर प्रेम र सहयोग रही नै रहनेछ ।

जाँदाजाँदै अन्तिम पटक – लालबाबुजी, खासमा प्रवासी नेपालीहरूप्रति किन सधैँ यतिधेरै आक्रोसित हुनुहुन्छ ? यो तपाईँको अज्ञानता हो या प्रवासी नेपाली प्रतिको कुनै अदृश्य प्रतिशोध ?