अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

सकारात्मक सोच

डा. टीकाराम पोखरेल २०७४ साउन ७ गते ९:०२ मा प्रकाशित

चिन्तन

मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । भनिन्छ– “सकारात्क सोच नै मानिसको जीवनको ऊर्जा हो । बन्दुकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।” हरेक व्यक्तिको यस्ता शक्तियुक्त सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरूप नै अकल्पनीय सुन्दर बन्दछ । तर विडम्बना हामी सकारात्मक सोचप्रति दिनप्रतिदिन गरिब हुँदै गइरहेका छौँ । नकारात्मक सोचले भने हामी निकै भरिपूर्ण छौँ । यही कारण हाम्रो देशले आसातीत प्रगति गर्न सकिरहेको छैन । तर यसको अर्थ यो पनि होइन कि हाम्रो देशमा केही पनि भएको छैन ।

मानिसको सकारात्मक सोचले कति उपलब्धि हासिल गर्छ भन्ने कुरा केही सकारात्मक सोचकर्ताहरुको भनाइले पुष्टि गर्दछ । हेनरी मैत्से भन्छन्– “उसको लागि फुल सधैँ अगाडि हाजिर हुन्छ, जो फुल देख्न चाहन्छ । तर चाहना फुल देख्ने नै हुनुपर्छ ।” मैत्सेको मतलब हो लक्ष्य स्पष्ट हुनुपर्दछ । विष्टर्न चर्चिल भन्छन्– “निरासावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।” चर्चिलको यो भनाइले समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर मानिसको सोचाइ मात्र हो भन्ने कुरा देखिन्छ । भनिन्छ नि समस्या मान्छेलाई लडाउन होइन, बरु उठाउन आउँछ । त्यसैले समस्या आउँदा खुट्टा लुलो होइन, दह्रो बनाउनुपर्छ ।

भागवत गीतामा भनिएको छ– “तपार्इँ जस्तो सोच्नुहुन्छ, अन्त्यमा त्यस्तै हुुनुहुन्छ ।” पूर्वजन्म र पुनर्जन्ममा समेत विश्वास राख्ने गीतामा कृष्ण अर्जुनलाई भन्छन्– “प्राण त्याग गर्ने बेलामा जे सोचिन्छ अर्को जन्ममा सोही भएर जन्मिइन्छ । त्यसैले सकारात्मक सोच ।” विश्वले नै महान् दार्शनिक ग्रन्थ मानेको गीता दर्शनलाई मान्ने हो भने मानिसले यो जन्ममा सोचेको कुराको प्रभाव अर्को जन्ममा समेत पर्ने देखिएको छ भने यो जन्ममा त नपर्ने कुरै भएन ।

सोचाई सकारात्मक भए पानीले समेत औषधीको काम गर्दछ भन्ने एउटा उदाहरणीय प्रयोग छ । अमेरिकामा सन् १९६० तिर मेडिकल अनुसन्धानमा संलग्न अनुसन्धाताहरुले २ जना पुड्काहरुलाई अग्लो बनाउने दबाइ दिइएको भनी एउटालाई असली दबाइ र अर्कोलाई चाहिँ पानी मात्र दिइयो । तर जसलाई पानी दिइएको थियो उसलाई पानी नभनेर दबाइ नै दिइएको भनिएको थियो र उसले पनि दबाइ नै सोचेर नियमित सेवन गरिरहेको थियो । अन्त्यमा दुवैको उचाइ बढ्यो । सकारात्मक सोच्दा दुवै जनामा सकारात्मक असर परी उचाइ बढेको भन्ने अनुसन्धानबाट प्रमाणित भयो । औषधी सोचेर खाँदा पानीले समेत औषधीको काम गरको सकारात्मक सोचको यो ज्वलन्त उदाहरण हो ।

जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ । एउटै विद्यालयमा एउटै कक्षामा पढेका सकारात्मक सोच भएका विद्यार्थीहरू भविष्यमा नेतृत्वको चुलीमा पुगेका र नकारात्मक सोच भएकाहरु परिवारको भार बनेका उदाहरण हाम्रै वरिपरि बग्रेल्ती छन् । खेलहरुमा पनि खेलाडीलाई सकारात्मक हौसला दिँदा सोचेभन्दा राम्रो परिणाम ल्याएका उदाहरण प्रसस्तै छन् । व्यापार व्यवसायमा त झन् सकारात्मक सोचको ज्यादै महत्त्व छ । जति सकारात्मक सोच उति उच्च आर्थिक प्रगति हुन्छ । नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरू कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन्

हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र ऊर्जा सिर्जना गर्दछ । त्यसैले आजकल सकारात्मक सोच सम्बन्धी तालिमहरु सञ्चालन गरिन्छन् । मानिसको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, व्यवसायमा वृद्धि, सङ्गठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन् ।

सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरूको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्रदै जान्छ । दिन दोगुना, रात चौगुना । सकारात्मक सोचको मुहान हामी आफैँ हौँ । मात्र आफैँ । त्यसैले हरेक व्यक्तिले आफूलाई सकारात्मक सोचको महान् समुन्द्र बनाउँ ।

डा. योगी विकाशानन्द भन्छन्– “संसारलाई बदल्नु छ भने सुरुवात आफैँबाट गर्नुपर्छ ।” हामीमा पछिल्लो समय सबै काम अरूले नै गरिदिनुपर्ने र आलोचना खेती चाहिँ आफूले गर्न पाउनुपर्ने दाबी बढ्दो छ । यो बिलकुल गलत हो । अरूले यो गरेन त्यो गरेन भनिरहँदा मैले चाहिँ के गरेँ त भन्ने ठाउँबाट प्रश्न सुरु गर्नुपर्छ । डा. म्याक ओडेलका अनुसार “एउटा महान् कार्यको थालनी गर्ने दिन आजै हो ।” रत्तिभर ढिला नगर्नुस्, अरूको आलोचना गरेर समय बर्बाद गर्ने होइन, आफ्नो काम गरेर समय सदुपयोग गर्नुहोस् । सबैप्रति सकारात्मक धारणा बनाउनुस् । जीवन र जगतलाई सुन्दर देख्नुस् । सकारात्क सोच घर, संस्था, सङ्गठन कार्यालय, समाज सबैमा प्रयोग गर्नुस् । याद राख्नुहोस् सकारात्मक सोचको सुरुवात आफैँबाट गर्नुहोस्, अहिले नै गर्नुहोस्, अनि मात्र अरूमा पनि सकारात्मक सोच आउने छ ।

डा. डेभिड एल कुपराइटर भन्छन्– “कल्पना मानव जीवनको महत्त्वपूर्ण स्रोत हो । सकारात्मक प्रतिफल पाउनको लागि सकारात्मक कल्पना गर्नुहोस् ।” हामी दिमागमा जति नकारात्मक कुराहरू खेलाउँदै जान्छौ हामी कर्ममा पनि त्यतैतर्फ उन्मुख हुन्छौँ । मन र मष्तिष्कमा नकारात्क कुराको गुँड लगाउने अनि मुखले चाहिँ सकारात्मक बाटोतर्फ हिँड्छु भनेर सकारात्मक सोचको यात्रा सम्भव छैन । हुँदैन । मुखले सकारात्मक सोचतर्फ यात्रा भने पनि मनमा नकारात्मक सोच छ भने हामी आफूले थाहा नै नपाई नकारात्मक मार्गतर्फ यात्रा गरिरहेका हुन्छौँ । त्यसैले सकारात्मक यात्राको पहिलो खुड्किलो मनमष्तिष्क हो । मुख होइन ।

नेपाली समाजमा हिजोआज जतासुकै पनि नकारात्मक कुरा मात्र देख्न र सुन्न पाइन्छ । कहीँ कतै समूहमा बसेर छलफल गरिरहेका मानिस हुन् वा दुईजनाबीचको कुराकानीमा होस्, सञ्चार माध्यममा होस् वा अन्य क्षेत्रमा होस्, सबैतिर केवल नकारात्मक कुराकै चर्चा बढी हुने गरेको छ । यस्तो भएन, त्यस्तो भएन भन्ने गुनासा, असन्तुष्टि एवं निराशाले वातावरणलाई दूषित तुल्याएको छ । यसरी वातावरण नै दूषित भएपछि मानिसको मनस्थितिमा समेत स्वाभाविक तवरले नकारात्मक असर पर्छ । समाज नकारात्मक सोचको सिकार बन्दै गइरहेको छ भने त्यो समाजभित्रका पात्र हामी चाहिँ सकारात्मक कसरी हुन सकौँला ? समाज नकारात्मक सोचले अगाडि बढ्दैन भन्ने थाहा छ, तर पनि नकारात्मक विचारको ओइरो छ ।

नकारात्मक भावनाको विकास हुनुमा केही मात्रामा नेपालको संक्रमणकालीन राजनीतिक अवस्था जिम्मेवार भए पनि सम्पूर्ण दोष यसैमाथि थुपारेर पन्छिन मिल्दैन । जिम्मेवार नागरिकले अरूलाई दोष दिनुभन्दा आप्mनो तर्फबाट के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसो भयो भने केही मात्रामै भए पनि सकारात्मक वातावरण सिर्जना हुन्छ । समाजमा विद्यमान सकारात्मक कुराको खोजी एवं पहिचान गरेर सकारात्मक विचार अपनाउनु नै आजको आवश्यकता हो ।
जो व्यक्ति जीवनप्रति सकारात्मक सोचाई राख्छ, त्यही व्यक्तिले जीवनमा सफलता पाउन सक्छ । नकारात्मक सोचाई र विचारहरूलाई सकारात्मकमा परिवर्तन गर्न सके हामीले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन दुवै ठाउँमा सफलता पाउन सक्छौँ । सकारात्मक सोचमा ठुलो शक्ति छ । यसको ठिक विपरीत नकारात्मक सोचले शक्ति क्षय गरिदिन्छ । हाम्रा वरिपरि पनि सकारात्मक आँखाले हेरे धेरै उपलब्धिमूलक उदाहरणहरू छन् । अशक्त झमक घिमिरे सकारात्मक सोचको उपजले साहित्याकाशमा चम्किन् । यदि उनीमा आत्मबल थिएन भने उनी अहिले पनि ओछ्यानमा नै खुम्चिएकी हुन्थिन् । अपांगता भएकाहरु सगरमाथा चढिसकेका छन् । गाउँबाट रित्तो हात हिँडेका सीताराम कट्टेलहरु (धुर्मस सुन्तली) ले भूकम्प प्रभावित र मुसहर बस्तीलाई नयाँ जीवन दिएका छन् ।

राजनीतितर्फ हेर्ने हो भने वि. सं. २००७ सालसम्म एकतन्त्रीय जहाँनीया शासनमा जकडिएको र विश्वले विकासको शिखर चुमिसक्दा बल्ल प्रजातन्त्र आएको नेपाल ७० वर्ष पनि नपुग्दै गणतन्त्रमा प्रवेश गरेको छ । सकारात्मक आँखाले हेर्दा यति छिटो राजनीतिक परिवर्तनको उपलब्धि सायदै विश्वमै होला । नेपालको विकासको सुरुवात नै २००७ सालपछिको हो । त्यसबाट यता हेर्दा विकासमा फड्को नै मार्न नसके पनि केही काम अवश्य भएको छ । एमालेको आफ्नो आफ्नो गाउँ आफैँ बनाऊ अभियानले गाउँमा विकासको चेतना पु¥याएको छ । माओवादीले सुरु गरेको १० वर्षे द्वन्द्वले धेरै कुरा विनास गरेको हामीले देख्यौँ, लेख्यौँ । तर त्यसले ल्याएको चेतनाको हामीले कहिले हिसाब गरेनौँ कि ? लोकतान्त्रिक गणतन्त्रको यात्रा १० वर्षे द्वन्द्वको बीजारोपणबाट नै भएको कुरा सायद हामीले बिस्र्यौँ । हामी परिवर्तन स्वीकार गर्नै नसक्ने र यथास्थितिमा रुमलिने रोगको सिकार भएका छौँ । सङ्घीयतामाथिको नकारात्मक धारणा पनि यस्तो यथास्थितिवादीताको उपज हो । सङ्घीय संरचनामा स्थानीय तहको व्यवस्था र त्यसले घरदैलोमा गरेको अधिकारको वितरणको सकारात्मक पाटोको बहस भने अझै हुन सकेको छैन । नराम्रा मात्र कुरा देख्ने सबै नकारात्मक सोचका उपज हुन् ।

सकारात्मक सोचका लागि केही प्रक्रियाहरू सुझाइएका छन् । सर्वप्रथम त म सकारात्मक छु, अथवा आजैबाट म सकारात्मक हुन्छुबाट सुरु गरौँ । हरेक दिन बिहान सकारात्मक सोचाइबाट दिनको सुरुवात गरौँ । अरूलाई कृतज्ञता र धन्यवाद व्यक्त गर्ने, दानी बन्ने, श्वास नियन्त्रण गर्ने, सकारात्क कल्पना गर्ने र ध्यान गर्ने जस्ता केही उपायहरू सकारात्मक सोचका आधारभूत तत्वहरु भनिएका छन् । यस्ता कुरा पढ्नेभन्दा अनुसरण गर्ने गरौँ । जहिले पनि आफूले अरूबाट खुसी या केही सामान पायाँैं भने त्यो खुसी वा सामान दिने व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्छ, यसले मनमा नराम्रो सोचहरु प्रकट हुन दिँदैन । बरु मनमा मायाको भावानाहरु प्रकट हुन दिन्छ । जहिले पनि बिहान उठ्ने बितिकै जीवनमा आफूले पाएको खुशीहरुको लागि संसारप्रति आभारी हुँदै धन्यवाद व्यक्त गर्ने गर्नु उचित हुन्छ । आफू जन्मेको स्थान, समाज देश र बाँचेको धर्ती र वातावरणप्रति सधैँ कृतज्ञ र खुसी हुन सिकौँ ।

हाम्रो स्वाभाव कस्तो रूपमा विकसित हुँदै गइरहेको छ भने जहिले पनि हामी अरूको लीनमा खुसी हुन्छौँ । सित्तैँमा पाए अलकत्र खाने, उल्फाको धन फूपूको श्राद्ध जस्ता उखान हाम्रो समाजमा प्रचलित छन् । अरूलाई दिनु परे मन खुम्च्याउँछौँ हामी, तर लिन परे खसी । अरूको लिएर हुने खुसी क्षणिक खुसी मात्र हो । जहिले पनि अरूलाई मद्दत गर्ने भावना मनमा पाल्नु पर्छ । यो नै वास्ताविक र दीर्घकालीन खुसी हो । आफूमा भएको गुण, क्षमता र सीप अरूलाई पनि बाड्नका लागि हो । भण्डारण गर्नका लागि होइन । गुण, क्षमता र सीप भण्डारण गरेर ब्याज प्राप्त पनि हुँदैन । तर ज्ञान र सीप बाँड्दा भने घट्दैन, बरु यो झन् झन् बढ्छ । अरूलाई दिँदा अकल्पनीय खुसी पनि मिल्छ । यो खुसी लिन मानिस कहिले चुक्नु हुँदैन । अरूलाई दिएर प्राप्त गरेको खुसीले नै मानिसलाई सकारात्मक बाटोतर्फ लैजान्छ । लिएर पाएको खुसीले कहिल्यै सकारात्मक बनाउँदैन ।

मानिस श्वासप्रस्वास विना बाँच्न सक्तैन । स्वासप्रश्वास हेर्दा सामान्य र निरन्तर प्रक्रिया लाग्छ । तर श्वासप्रश्वासमा अपार शक्ति छ । भनिन्छ– “जो व्यक्ति आफ्नो श्वासमा नियन्त्रण गर्न सक्छ, त्यो व्यक्तिले आफ्नो जीवनलाई पनि नियन्त्रणमा राख्न सक्छ ।” जब कोही व्यक्ति क्रोधित हुन्छ, तब उसको श्वास फेर्ने गति छोटो र छिटो हुन्छ । यस्तो अवस्थामा मनमा विभिन्न नकारात्मक विचारहरू आउने गर्दछन् । मनमा सकारात्मक विचार ल्याउनको लागि जहिले पनि लामो श्वास फेर्ने गर्नुपर्छ । लामो श्वास सकारात्मक सोचको मुहान हो । जब रिस उठ्छ तब तत्कालै लामो श्वास लिन सुरु गरी हाल्नुस् ।

ध्यान सकारात्मक सोचको सबैभन्दा ठुलो मुहान हो । ध्यान गर्दा सबैभन्दा बढी सकारात्मक विचारहरू आउने गर्छ । ध्यान गर्दा आफूमा भएको सबै नकारात्मक विचारहरूलाई मन र दिमागबाट निकाल्दै सकारात्मक विचारहरू सोच्न सक्छौँ । एउटा शान्त ठाउँमा बसेर आँखा चिम्लेर बिस्तारै बिस्तारै श्वास फेर्नुस् र मनमा भएका नराम्रा विचारहरू बिस्तारै बिस्तारै श्वाससँगै बाहिर फाल्नुस् । राम्रा विचारहरू श्वाससँगै मन भित्र हाल्नुस् । आहा ! यो आनन्द अकल्पनीय छ ।
र अन्यमा, आफूले जिन्दगीमा अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरुको मूल्याङ्कन सकारात्मक कोणबाट गरौँ । यसो गर्दा भविष्यमा पनि त्यस्तै सफलताहरू पाउन प्रोत्साहित हुन्छौं । अनि मनमा पनि आफ्नो काम र जीवन प्रति सकरात्मक विचारहरू आउँछ । अरूको कहिल्यै कुभलो नसोचौँ । अरूलाई सकारात्मक सोचौँ, आफू सकारात्मक बनौँ । जिन्दगीको सफलता यसैमा निहित छ । योे नै मानव जीवनको सार्थकता हो ।