अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

जनता जागेको बेला नेता किन सेलाउँछन् ?

डा. टीकाराम पोखरेल २०७३ चैत ११ गते १०:२८ मा प्रकाशित

नेपालीमा एउटा भनाइ छ– फलाम तातेको बेलामा पिट्न सके जे पनि बन्छ । सेलाएपछि पिटेर केही पनि बन्दैन, बरु फलाम पिट्ने मान्छे थाक्छ । हरेक काम ठिक समयमा ठिक तरिकाले गरे शक्ति खर्च गरेको उपलब्धि आउँछ । समय ठिक नभए शक्ति खेर मात्र जान्छ । त्यसैले फलाम तातेको बेला घन उचालौँ । सेलाको बेला घन उचालेर पाखुर नदुखाउँ । बेमौसमी बाजाहरु बजाउनुभन्दा नबजाकै बेस । सन्दर्भ मिलाएर बाजा घन्काउँ । अनि मात्र धुन मिठो सुनिन्छ ।
यति बेला राष्ट्रियताको मामिलामा नेपाली जनता तातेका छन् । राष्ट्रियताको लागि नेपाली जनता जुनसककै किसिमको बलिदानी गर्न तयार छन् । यसको पुष्टि कञ्चनपुरको आनन्दबजारले गरिसकेको छ । देशको सुरक्षा निकायले गर्न नसकेको सीमा सुरक्षा प्रयास नागरिकले गरेका छन् । ठुलो सैनिक शक्तिसँग सानो शक्तिले नझुक्ने सन्देश कञ्चनपुरको नागरिक आन्दोलनले दिइसकेको छ । एक राज्यले अर्को राज्यलाई दिन नसकेको टक्कर सर्वसाधारणले दिएका छन् । हतियारधारीसँग विना हतियारका नागरिक सीमामा लड्न भिड्न तयार भएका छन् । बरु हाम्रै सुरक्षा दस्ता जनताको त्यो साहसलाई टुलुटुलु हेरेर लाहचारी प्रदर्शन गरिरहेका छन् । मानौँ कि देशको सीमा सुरक्षामा खतरा हुँदा सुरक्षाकर्मीको कुनै जिम्मेवारी नै छैन ।

नेपाली जनता कति राष्ट्रप्रेमी छन् भन्ने कुरा विगतको भारतीय नाकाबन्दीमा पनि पुष्टि भएको छ । त्यत्रो नाकाबन्दीमा जनताले कहिल्यै हिम्मत गुमाएनन् । इन्धनको लाइनमा बसे, महँगो दाउरा किनेर खाना पकाएर खाए । कष्टपूर्ण यात्रा गरे । तर जनताले कहिले पनि यो नाकाबन्दी खोल्नको लागि भारतको सामु झुक भनेर नेतालाई भनेनन् । धेरै नेता र पार्टीले गर्न नसकेको विरोध जनताले खुलेर गरे । तर विपक्षमा भएका केही नेताले बाहेक प्रभु रिसाउँछन् कुनै पनि सत्ताधारी नेताले भारतको खुलेर विरोध गर्न सकेनन् । त्यसैले राष्ट्रवादको सवालमा जनता अत्यन्त चनाखो छन् भन्ने इतिहासको कालखण्डमा धेरै घटनाहरू छन् ।

नेपाली सेना भारतसँग कहिल्यै लडेको छैन । इतिहासमा अङ्ग्रेजसँग लडेको कुरा भिन्नै हो । तर आधुनिक भारतसँग पनि सिमानाको मामिलामा नेपालीहरू पटक पटक लडेका छन् । चाहे सुस्तामा होस् वा कालापानीमा कञ्चनपुरमा होस वा झापामा । बर्दिया, जोगबनी, सुनसरी, महोत्तरी, माडी, रौतहट जताततै विगतमा भारतीय ज्यादती देखिएका छन् । यी सीमामा पटक पटक भारतीय ज्यादती विरुद्ध नेपाली लडेका छन् । नेपालीमाथि ज्यादती गर्न नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई नेपालीले घेरा हाली पक्रेका छन् । अनि नेपाली प्रहरीले चाहिँ नेपाली जनताबाट ती सुरक्षाकर्मीलाई आफ्नो जिम्मा लिएर ससम्मान स्यालुट हान्दै भारतलाई फिर्ता गरेका छन् । मानौँ कि हाम्रो भूमिमा छिरेका भारतीय सस्त्रधारी फौजलाई पक्रेर नेपाली नागरिकले गल्ती गरेका छन् । यति बेला कञ्चनपुरमा पनि नेपाली सुरक्षाकर्मी र प्रशासनको मौनताले त्यही देखिँदैछ मानौँ कि कञ्चनपुरको आनन्दबजारले भारतीय ज्यादतिको विरोध गरेर गल्ती गरिरहेको छ ।
यति बेला कञ्चनपुरमा भारतीय सुरक्षाकर्र्मीबाट नेपाली मारिए झैँ चीनको सिमाना वा पाकिस्तानको सिमानामा भारतीय सुरक्षाकर्मीबाट चिनिया वा पाकिस्तानी मारिएको भए के हुन्थ्यो होला ? स्ष्ष्ट छ, ती देशहरूले भारत विरुद्ध युद्ध घोषणा गरिसक्थे । यति बेला अर्को कार्गिल युद्धको विभिषिका टेलिभिजनहरुले प्रसारण गरिरहेका हुन्थे । भारतलाई सबक सिकाइरहेका हुन्थे कि अब फेरि यस्तो नदोहोरियोस् । संसारको सबै ध्यान त्यही युद्धतिर हुन्थ्यो । तर नेपालका नेताहरूको आफ्नो नागरिक मारिँदा स्पष्ट बोल्नेसम्म क्षमता छैन ।

तितो यथार्थ
नेपाल भारतसँग भौतिक युद्ध घोषणा गर्न सक्तैन । गरे पनि त्यो मूर्खता शिवाय अर्को केही हुने छैन । नेपाली जनता पनि यो चाहँदैनन् कि नेपाल सरकारले भारत विरुद्ध भौतिक युद्धको घोषणा गरोस् । तर युद्ध घोषणा गर्न नसक्नुुको अर्थ अरू कुटनैतिक बाटाहरु बन्द गर भन्ने चाहिँ होइन । संयुक्त राष्ट्र सङ्घमा समान हैसियत भएका नेपाल भारतको कुटनीतिक क्षमता बराबर छ । त्यसैले कुटनीतिक बाटाहरु बन्दा भएका छैनन् । नेपाल भारतसँग सैनिक सङ्ख्या होस् वा आणविक हातहतियारमा होस् कहिल्यै प्रतिस्पर्धा गर्न सक्दैन र गर्नु पनि हुन्न । तर कुटनैतिक प्रतिस्पर्धामा अलिकति पनि चुक्नु हुन्न । नेपाल खरो उत्रनै पर्छ । हामी भारतभन्दा कुनै पनि अर्थमा साना छैनौँ भन्ने कुरा कुटनीतिक माध्यमद्वारा भारत र सिङ्गो विश्वलाई देखाउन सक्नुपर्छ ।

भारतीय शासकहरुको आशीर्वादमा सत्तारोहण गरेका हाम्रा नेताहरूको हीनतारति ग्रन्थीका कारण मात्र हामी साना भएका हौँ । नत्र नेपाल कहिल्यै भारतभन्दा सानो मुलुक होइन । नेपाल भारतको उपनिवेश पनि होइन । यो कुरा हाम्रा नेताहरूले पनि राम्ररी बुझेको हुनुपर्छ । जब हामी उपनिवेश होइनौँ भने पटक पटक भारतीय सुरक्षाकर्मीबाट हाम्रा नागरिक मारिँदा पनि फेरि मार्नेसँग डराइ डराइ बस्ने हो ? यो जति लम्पसार राजनीति अरू के हुन्छ ? जनता रत्तिभर नडराउने नेता चाहिँ भारत रिसाउँछ कि भनी थुरथुर काम्ने पनि कतै सैह्य हुन्छ ? विदेशीसँगचाहिँ डराउने अनि आफ्ना नागरिकलाई चाहिँ राष्ट्रियताको सवालमा मनोबल गिरिाउने काम नेताले गरिरहन मिल्छ ?

आजको दुनियाँमा भौतिक युद्धभन्दा पनि प्रभावकारी कदम भनेको कुटनीतिक उपायहरू हुन् । यति बेला भारतले माफी माग्नुपर्छ भनेर रुन्चे स्वरमा होइन प्रस्टसँग भन्न नेपालले किन सकिरहेको छैन । किन दबाबको स्वरमा नभनेर याचनाको स्वरमा सरकार बसिरहेको छ । यसमा के समस्या छ नेपाल सरकारलाई ? यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न किन सरकार डराइरहेको छ । कि भारतले सत्ताबाट फालिदिने डरले बोल्न नसकेको हो सरकार ?

नेपालमा भारतले नाकाबन्दी गर्दा त्यसको औचित्य पुष्टि गर्न हाम्रो संविधानको विपक्षमा देखिएको असन्तुष्टिको स्वरलाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो अमानवीय नाकाबन्दीको औचित्य पुष्टि भारत पछि परेन । विश्वमै आफूलाई महान् कहलाउन खोज्ने मोदी महान्ले नेपाल जस्तो भूपरिवेष्ठित राज्यलाई गरेको नाकाबन्दी र मानमर्दनका लागि आफ्नो एजेण्डालाई साथ दिन बेलायत सामु गरेको याचना साँच्चै लज्जास्पद थियो । तर जतिसुकै लज्जाजनक भए पनि नेपाललाई आफ्नो प्रभुत्वमा राख्न भारत पछि पर्दैन । भारत निर्लज्ज जे पनि गर्छ भन्ने त्यो एउटा उदाहरण मात्र हो । भारत त निर्लज्ज छ नै तर हामी पनि जति गरे पनि सहने हाम्रो कस्तो निर्लज्जता हो ? मान्छे मार्दा पनि सहने हो भने त अब जे गरे पनि हुने भयो । नेपाल भारत सीमामा एकपछि अर्को घटना हुनु भनेको भारतको हेपाहा प्रवृत्ति पनि कारण होला तर त्योभन्दा ठुलो कारण चाहिँ हाम्रो पराधीन मानसिकता हो । यसमा जति भारत निर्लज्ज छ त्यो भन्दा बढी निर्लज्ज चाहिँ भारतीय कदम प्रति कडा रूपमा प्रस्तुत हुन नसक्ने नेपाली मानसिकता नै हो ।

अहिले जनता जागेका छन् । जनता यसकारण जागेका होइनन् कि जनता जागेर गोविन्द गौतम फिर्ता आउँछन् । बरु यस कारण जागेका हुन् कि अब थप गोविन्द गौतम नबनून, यस कारण जागेका हुन् कि अब हाम्रा अरू सीमानाहरु सुस्ता र कालापानी नबनून् । तर यति बेला भारतीय हेपाहा प्रवृत्ति र नेताहरूको उदासिनताका कारण किंकर्तव्यविमुढ हुनु परेको हाम्रो नियति देखेर जनता रोएका छन् । जनता रुँदै देश रुन्छ । तर नेता चाहिँ कसरी हाँस्छन् ? जनता जाग्दा नेता किन सेलाउँछन् । जनता भारतसामु ठुलो शिर गर्ने तर नेताहरू चाहिँ सधैँ किन भारतसामु लम्पसार पर्ने ? के कुनै देशको सिमानामा अर्को देशको सुरक्षाकर्मीबाट आफ्ना नागरिक मारिन्छन् भने त्यो सासको सरोकारको विषय हुँदैन ?

जनता जागेका बेला नेता सेलाउने हो भने नेता जागेका बेला जनताले साथ दिँदैनन् । राष्ट्रियता विपक्षमा बस्दा चाहिने तर सत्तामा बस्दा नचाहिने हो भने त्यस्तो मौसमी राष्ट्रवाद के काम ? विपक्षीमा बसेर राष्ट्रियताका कुरा गर्ने, चुनावमा राष्ट्रियताका कुरा गर्ने, भारतसँग आफ्नो कुनै एजेण्डा मिलेन भने राष्ट्रियताका कुरा गर्ने सत्तामा पुगेपछि चाहिँ प्रत्यक्ष परोक्ष भारतभक्ति देखाउने हो भने नेताले विपक्षमा पुग्दा पनि राष्ट्रवादका कुरा गर्न सुहाउँदैन । सत्तामा बसेर जति राष्ट्रवादी बन्न सकिन्छ विपक्षमा हुँदा पनि त्यत्ति नै गर्नुपर्छ, त्यत्ति बोल्नुपर्छ । जति विपक्षमा हुँदा चर्को राष्ट्रवादी बनिन्छ, सत्तामा पुग्दा पनि त्यो अडान छोड्नु हुँदैन । होइन भने भोट र स्वार्थका लागि मौसमी राष्ट्रवादका कुरा नगर्दै राम्रो । सत्ताबाहिर हुँदा एउटा र सत्तामा हुँदा अर्को रङ्ग फेर्ने राष्ट्रवादले देश र जनतालाई धेरै कमजोर बनाइरहेको छ ।

गौतम हत्याको हप्ता नबित्तै भारत पुगेका नेपालका गृहमन्त्रीले गोविन्द गौतमको हत्याका विषयमा भारतीय अधिकारीको ध्यानाकर्षण गराउँदै क्षमायाचना गर्न अनुरोध गरेको समाचार आएका छन् । यो अत्यन्तै सकारात्मक कुरा हो । तर यो सकारात्मक त्यति बेला हुन्छ जतिबेला भारतले क्षमा याचना गर्छ । किनभने आजको युगमा प्रक्रियाको होइन परिणामको युग हो । गृहमन्त्रीले के भने भन्दा पनि के परिणाम निकाले भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । यदि परिणाम निकाल्न नसके यो दाबेदारी नभएर ताबेदारी मात्र हुन्छ ।

संसारमा कुटनीतिक सफलताको अर्थ कुनै माग राख्नु मात्र होइन, राखेको माग पूरा गराउनु हो । पूरा गर्न बाध्य पार्नु हो । अब भारतलाई गोविन्द गौतम भारतीय प्रहरीबाट मारिएको भन्ने पुष्टि र स्वीकार गराएर मात्र पुग्दैन, भारत सरकारले माफी नै माग्नु पर्छ र भविष्यमा यस्ता घटना नदोहोरिने कुरामा नेपाललाई भारतले आश्वस्त पार्न सक्नुपर्छ । त्यस काममा सरकार सफल भए मात्र सरकार राष्ट्रवादी ठहर्छ । नत्र यो सरकार विपक्षीले भनेको जस्तै कसैको निगाहमा बनेको ठहर्छ ।

अन्त्यमा, जनता जागेको बेला सरकाले जनतालाई साथ दिनुपर्छ । नेता अगाडि लाग्न नसकेको बेला जनता अगाडि लागेका छन् । जनता भनेको शक्ति हो । जसले सरकारलाई पनि ऊर्जा प्रदान गर्दछ । त्यसैले जनता तातेको बेला सरकार सेलाउने होइन । जनता तातेको बेला सरकारले गौतमको हत्या प्रकरणमा भारतसामु खुट्टा कमाउने होइन स्पष्ट अडान राख्न सक्नुपर्छ । अनि मात्र हाम्रो राष्ट्र अटल रहन्छ र त्यति बेला मात्र सार्वभौमिकताको रक्षा हुन्छ ।