अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

बास्केटबल–नेपाल बंगलादशसँग पराजित

बिआरटीनेपाल २०७४ भदौ २२ गते १३:२२ मा प्रकाशित

काठमाडौँ, २२ भदौ । राजधानीमा जारी सोह्र वर्षमुनि (यु–१६) पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग समग्रमा ११ अङ्कले पराजित भएको हो ।

बङ्गलादेशले खेल सकिने बेलामा ६८–५७ को स्थितिमा थियो । तेस्रो क्वाटरको समाप्तिसम्म नेपाल ४६–४१ ले अगाडि थियो । अन्तिम क्वाटरमा त्यो अग्रतालाई जोगाउन नसक्दा नेपाल बङ्गलादेशसँग पराजित हुन पुग्यो ।

नेपालले पहिलो क्वाटरमा २२–१० को अग्रता लिँदै सुखद सुरुआत गरेको थियो । दास्रो क्वाटर बङ्गलादेशले २१–१० ले आफ्नो पक्षमा पार्दै पहिलो क्वाटरमा १२ अन्तरले पछि परेको अवस्थालाई एक अङ्कमा झार्न सफल भयो ।

तेस्रो क्वाटरमा नेपालले १४–१० को प्रदर्शन गर्दै समग्रमा ५ अङ्कले अग्रता बनायो । अन्तिम तथा चौथो क्वाटरमा बङ्गलादेश २७–११ ले अगाडि रहँदै जित सुनिश्चित ग¥यो ।

बङ्गलादेशको जितमा तन्विर प्रोधानले १८ अङ्कको योगदान दिए । नेपालका लागि भुटानविरुद्ध जित हात पार्दा सर्वाधिक २३ स्कोर गरेका अभिषेक सिंहले बंगलादेशविरुद्ध पनि त्यत्तिनै स्कोर गरे । आशिष् बस्नेतले १०, सन्तोष खत्री र चिरञ्जिवी रोकायाले छ–छ, सयुन राईले पाँच, सुरेश विक र आशिष् भुजेलले तीन–तीन तथा सतिश लामाले एक स्कोर गरे ।

त्यसै गरी आजै भएको अर्को खेलमा भुटानले माल्दिभ्सलाई ६३–५४ ले पराजित गर्दै विजयी भयो । प्रतियोगिताअन्तर्गत शुक्रवार माल्दिभ्सले बङ्गलादेशको सामना गर्नेछ भने नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।

यसैबिच आयोजक नेपाल बास्केटबल सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाले हारका बावजुद बंगलादेशविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोलीलाई प्रोत्साहनस्वरुप रु ४५ हजार दिने घोषणा गर्नुभएको छ । रासस

प्रतिक्रिया