अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

फिनल्यान्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न सरकारको आग्रह

बिआरटीनेपाल २०७६ मंसिर ६ गते ८:४१ मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा.वैकुण्ठ अर्यालले फिनल्यान्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्स, मिनिस्ट्रि अफ फरेन अफेयर्स अफ फिनल्यान्ड र फिनपार्टनरशीपको संयुक्त आयोजनामा “डुईङ बिजनेस विथ फिनल्यान्ड” विषयक गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले मुलुकमा हाल आर्थिक विकासको गतिका लागि “सुखी नेपाल, समृद्ध नेपाली” को नारा पूरा गराउन लागिरहेको परिप्रेक्षमा सरकारी, निजी क्षेत्र र आम जनसमुदाएको एकीकृत प्रयासबाट मात्र सो लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्यान्डसँग व्यापार, लगानी, पर्यटन प्रवर्द्धनमा जोड दिएको र निजी क्षेत्र तथा नेपाल भ्रमणमा रहेका फिनल्यान्डका व्यवशायीक समस्यामा समाधान गरी अनुकूल वातावरण बनाउन तैयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेर्र्टी एन्टिननले चेम्बर सँगको सहकार्यमा दोस्रो पटक यस किसिमको व्यापारिक प्रतिनिधि मण्डलको भेटघाटले युरोपियन समुदायकाले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईवीए) को सुविधा प्राप्त गर्न सहज हुने बताउनुभयो । उहाँले नेपाल फिनफण्डबाट बढी दरखास्त आहन गरी नेपाली उद्यमी व्यवसायीहरू लाभान्वित हुने अवसर यस किसिमको प्रतिनिधिमण्डलको भ्रमणबाट हुने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा प्रतिनिधि मण्डलका प्रमुख तथा फिन पार्टनरसिपका कार्यक्रम निर्देशक विग्रिट नेभ्ला Birgit Nevala) ले फिनपार्टनरशीप र फिनफण्डबाट उपलब्ध गराउन सकिने सुविधा सहुलियतका बारेमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले दिगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचना प्रविधि र सञ्चार (आई सिटी) कन्टेनर विञ्डिङ आदिमा नेपाललाई सहयोग र व्यवसाय गर्न सकिने बताउनुभयो । नेपालमा पर्यटन प्रबद्र्धनको लागि समेत फिनल्यान्डबाट उल्लेख्य पर्यटक आउन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । ५५ करोड युरोको बास्केट फन्डबाट प्रक्रिया पु¥याई नेपालका उद्योगी व्यवसायीहरूले फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिमण्डललाई स्वागत राख्दै नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाल र फिनल्यान्ड बिच व्यापार र लगानीको सङ्ख्या ज्यादै न्यून रहेको बताउँदै कृषि, इलेक्ट्रोनिक्स, वन जन्य र पर्यटन प्रवर्द्धनमा उल्लेख्य विकाश गर्न सकिने सम्भावना रहेको बताउनुभयो । हाल फिनल्यान्डको सहयोगमा विभिन्न क्षेत्रहरूमा भइरहेको कार्यको सहहना गर्दै आउँदा दिनहरूमा सो सम्बन्ध अझ विस्तृत गर्न यस्ता प्रतिनिधि मण्डलले ठोस टेवा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्वतारोहीहरू नेपालका राजदूत हुने हुँदा फिनल्यान्डमा प्रथम पर्वतारोही भिक्का गुसटाफसन (Veikka Gustafsson) को स्मरण गर्दै सन् २०२० मा नेपाल भ्रमण वर्षको अवसरमा नेपालमा फिनल्यान्डबाट उल्लेख्य पर्यटक भित्रिन सक्ने सम्भावना व्यक्त गर्नुभयो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहले नर्डिक मुलुकहरूमा पनि फिनल्यान्ड सँग नेपालको निकासी बढाउने सम्भावनालाई मूर्त रूप दिन परम्परागत वस्तु भन्दा नयाँ वस्तु एवं सेवा निर्यातको पहिचान केन्द्रले गरिरहेको बताउनुभयो ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै चेम्बरका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका अध्यक्ष नरेश श्रेष्ठले करिब ३ महिना मात्र पर्यटन मौसम हुने फिनल्यान्डबाट बाह्रै महिना पर्यटक भित्राउन सक्ने नेपालको सम्भाव्यताको भरपुर प्रयोग गर्नुपर्ने बताउनुभयो । सन् २०१८ मा नेपालको फिनल्यान्ड सँगको व्यापार घाटा १७ करोड ९० लाख अमेरिकी डलर बराबर रहेको छ । जसमा आयात १९ करोड ८० लाख अमेरिकी डलर र निर्यात केवल ९ लाख अमेरिकी डलर मात्र रहेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ । सो कार्यक्रममा फिनल्यान्डबाट आएका व्यवशायीक प्रतिनिधिमण्डलका साथै चेम्बरका कार्य समिति सदस्य, वस्तुगत आबद्ध सदस्यहरू, उद्यमी व्यवसायी तथा सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू