अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

प्रदूषणले भिजिविलिटी कम हुँदा पोखराको उडान–अवतरण ठप्प

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ६:०७ मा प्रकाशित

भिजिविलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण ठप्प बनेको छ । भिजिविलिटी कम भएका कारण बुद्ध एयर र यति एयरलायन्सको उडान ठप्प भएको हो । यद्यपि, पोखराबाट यति एयरलायन्सको एउटा उडान भने भएको थियो । यति एयरलायन्सको पोखरामा रात्रिकालिन पार्किङ गरेको एउटा विमानले उडान भरेको थियो । तर, त्यसबाहेक पोखरामा अरु उडान–अवतरण हुन नसकेको यति एयरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो ।

शुक्रबार यति एयरलायन्सको काठमाडौं–पोखरा १० फ्लाइट थियो । त्यसमध्ये ६ फ्लाइटका यात्रुले टिकट नै रद्द गरेको बर्तौलाले बताउनुभयो । यद्यपि, अहिलेसम्म कुनै पनि उडान भने आधिकारिक रूपमा रद्द नगरेको बर्तौलालले जानकारी दिनुभयो । बुद्ध एयरको काठमाडौं–पोखराको शुक्रबारको अधिकांश उडान रद्द गरिएको प्रवक्ता दिपेन्द्र कर्णले बताउनुभयो । साथै बुद्ध एयरको अन्तरप्रदशीय पोखराबाट हुने नेपालगन्ज, भरतपुर र भैरहवा उडान पनि रद्द गरिएको प्रवक्ता कर्णको भनाई छ ।

जहाज उडानको लागि एक हजार ६०० भिजिविलिटी चाहिन्छ भने अवतरणको लागि एक हजार भिजिविलिटी चाहिन्छ । तर, शुक्रबार बिहान दुई हजार ५०० रहेको पोखराको भिजिविलिटी अपरान्ह ४ बजेसम्म दुई हजारमा झरेको पोखरा विमानस्थल स्रोतले जानकारी दिएको छ । “पोखरामा अहिले भिजिविलिटी निकै कम छ । यसको मुख्य कारण प्रदूषण नै हो । डढेलो धेरै ठाउँमा लागेको र त्यसको धुवाँ पोखराको आकाशमा जम्मा भएकाले प्रदूषण बढ्दा भिजिविलिटी कम भएको हो”, मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “पोखरा उपत्यका भएकाले जम्मा गएको धुवाँ तथा प्रदूषण बाहिर नगएकाले भिजिविलिटी कम भएको हो । पोखरामात्र होइन सबै उपत्यकामा अहिले करिब–करिब उस्तै अवस्था छ ।”

धेरै भिजिविलिटीमा मात्र उडान गर्ने विमानले प्रदूषण हुँदा उडान तथा अवतरण गर्न नसक्ने उहाँको भनाइ छ । काठमाडौंमा पनि शुक्रबार अपराह्न पाँच हजारभन्दा कम भिजिविलिटी रहेको मौसमविद् मानन्धरले बताउनुभयो। पानी नपरेको र तीव्र गतिमा हावाको बेग नहुँदा उपत्यकामा जम्मा भएको प्रदूषण नहटेको उहाँको भनाइ छ । “उपत्यकाहरूमा प्रदूषण पकेट–पकेटमा जम्मा हुन्छ । यो हट्न ठूलो पानी पर्नुपर्छ अथवा हावा चल्नुपर्छ,” मानन्धरले भन्नुभयो, “तर यो दुवै नहुँदा प्रदूषण बढ्दै गइरहेको छ ।”‍

प्रतिक्रिया