अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ६:०३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताउनुभएको छ । शुक्रवार राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा रहेकाले मुलुकको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताउनुभयो । करिव ६०० मेगावाट थप जलविद्युत उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने गभर्नर अधिकारीको दाबी छ ।

सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनका लागि युवाहरू बिदेसिएकाले आन्तरिक मागमा शिथिलता आएको भन्दै उहाँले खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित देखिएको बताउनुभयो । गभर्नर अधिकारीले रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उतारचढाव आउन सक्ने जोखिम कायमै रहेको पनि बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाईं, मौसम अनुकूल र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिएको भन्दै अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा हुँदा निष्क्रिय कर्जा अनुपातमा वृद्धि भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको भन्दै फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजी कोष जोखिम सम्पत्ति १२.४४ प्रतिशत रहेको बताउनुभयो ।

नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ र सुरक्षित अवस्थामा रहेको गभर्नर अधिकारीको भनाइ छ । उहाँले चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको जानकारी दिनुभयो । निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका रहेको उहाँले बताउनुभयो। गभर्नर अधिकारीले शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको उल्लेख गर्दै राष्ट्र बैंकले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै जाँदा आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको विश्वास व्यक्त गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको भन्दै अधिकारीले बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएकाले आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा राष्ट्र बैंकको रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू