अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ५:३६ मा प्रकाशित

काठमाण्डौ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि पालिकालाई विद्युत् महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो ।काठमाण्डौ उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरवपालिकाका मेयर चिरीबाबु महर्जन नेतृत्वको टोलीले बिहीवार अर्थ मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँग विद्युत् महसुलको बक्यौता राफसाफ गरिदिन आग्रह गरेको हो ।

अध्यक्ष महर्जनले आउँदो आर्थिक वर्षदेखि पालिकाले आफ्नो विद्युत् महसुल तिर्ने बताउनुभयो । आउँदो आर्थिक वर्षदेखि विद्युत् महसुलबापत उठेको रकममध्ये ६० प्रतिशत पालिकाले र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्नुपर्ने व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ ।विद्युत् प्राधिकरणले २०७४ सालदेखिको महसुल असुल्न पालिकालाई पत्राचार गरेपछि काठमाण्डौ उपत्यकाभित्रका पालिका र मेयर्स फोरमले विरोध जनाउँदै आएको छ ।

अर्थमन्त्रीलाई भेट्न पुगेका जनप्रतिनिधिले नगरपालिकालाई प्राप्त बिलमा उल्लेखित रकम तथ्यपरक नभएको गुनासो गरेका छन् । काठमाण्डौ उपत्यकालाई उज्यालोसहित सुरक्षित बनाउने अभियानमा लागेका जनप्रतिनिधिलाई विद्युत् प्राधिकरणले निराश बनाएको उनीहरूको आरोप छ ।

अर्थमन्त्री वर्षमान पुनले काठमाण्डौ उपत्यका मेयर्स फोरमका जनप्रतिनिधिले राखेको मागमा छलफल गरेर अघि बढ्ने बताउनुभएको छ । प्राधिकरण पनि सरकारको अङ्ग भएकाले यो विषयमा सकारात्मक ढङ्गबाट अघि बढ्न सकिने उहाँले प्रष्ट पार्नुभयो । अर्थमन्त्री पुनले विद्युत् महसुल नतिरेका कारण बिजुली लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू