अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

चीनले नेपाली सेनालाई १५ करोड युआन बरावरको सैन्य सहयोग गर्ने, सहमतिमा हस्ताक्षर

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:२३ मा प्रकाशित

छिमेकी मित्रराष्ट्र चीनले नेपाली सेनालाई १५ करोड युआनबराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री जनरल वी फेन्घेबीच बेइजिङ्गमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङले गत साता नेपाल भ्रमणका अवसरमा चीनले नेपाल सरकारलाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरेअनुसार आजर बेइजिङमा औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुनेछ ।

रक्षामन्त्री पोखरेलको गत वर्षको चीन भ्रमणका बेला पनि दुई देशका रक्षामन्त्रीहरूबीच नेपाली सेनालाई १५ करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो । जुन कार्यान्वयनको चरणमा रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

बेइजिङबाट जारी गरेको विज्ञप्तिअनुसार, उक्तसम्झौतामा हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । रक्षा मन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्दे्िशत भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका महामहिम राष्ट्रपतिको राजकीय भ्रमणबाट थप उचाइमा पुर्याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताउनु भयो ।

‘नेपाल–चीनबीचको मित्रतालाई प्रवर्द्धन गर्ने कुरा दुई देशका जनताको विकास, समृद्धि र पारस्परिक हितलाई प्रवद्र्धन गर्ने साझा उद्देश्यमा केन्द्रित छ । नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिबद्ध छ । नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुकहरूविरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको छ,’ पोखरेलको भनाई थियो ।

भेटवार्ताका क्रममा चीनका रक्षामन्त्री जनरल वे फेन्घेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको कुरा स्मरण गर्नुभएको थियो । ‘उहानमा आयोजित सातौँ मिलिटरी वल्र्ड गेम र बेइजिङ्गमा आयोजना हुन गइरहेको नवौँ जिङसान फोरममा नेपालबाट उच्च स्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु,’ उहाँको भनाई थियो ।

नेपालको आर्थिक, सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउन पाएकोमा चीनको तर्फबाट प्रसन्नता व्यक्त गर्नुभयो । ‘चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको छ । नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सदैव सकारात्मक छ,’ उहाँको भनाई थियो । चीनियाँ रक्षामन्त्रीले वार्ताका क्रममा चीनका राष्ट्रपतिबाट हालसालै भएको नेपालको राजकीय भ्रमणले दुई मुलुक बीचको सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउन सहयोग पुगेको विचार व्यक्त गर्नुभएको थियो ।

भेटवार्ताको अन्त्यमा रक्षामन्त्री पोखरेलले चीनका रक्षामन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । चीनका रक्षामन्त्रीले उक्त निमन्त्रणा सहर्ष स्वीकार्दै भ्रमणका लागि सकारात्मक रहेको र उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनु भएको छ । रक्षामन्त्री पोखरेल शनिबार साँझ बेइजिङ्ग पुग्नुभएको थियो । भेटवार्तामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, नेपाली सेनाका रथी गौरव तण्डुल, बेइजिङस्थित नेपाली राजदूतावासका सैनिक सहचारी सहायक रथी विनोद पाण्डेसहित प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू