अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था छैनः स्वास्थ्यमन्त्री यादव

बिआरटीनेपाल २०७६ असोज १ गते ९:१८ मा प्रकाशित

सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उपप्रधानमन्त्री यादवले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको मन्त्री यादवले जानकारी दिनुभयो ।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको जिकीर गर्नुभयो । मृत्युदर अत्यन्त न्युन रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने हदमा नरहेको मन्त्री यादवको भनाइ रहेको छ ।

विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको मन्त्री यादवको जिकीर थियो । डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको मन्त्री यादवले उल्लेख गर्नुभयो ।

यसैवीच सरकारले काठमाडौंमा डेंगु परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको सेवा अब त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि विस्तार गरेको छ । यद्यपि सत्तारूढ दलकै सांसदहरूले स्वास्थ्यमन्त्रीले जानकारी अविश्वसनीय रहेको र डेंगुको प्रकोप अत्यधिक रहेको दावी गरेका थिए । नेकपा सांसद खगराज अधिकारीले अहिले स्वास्थ्य संकटकाल (हेल्थ इमरजेन्सी) कै अवस्था रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू