अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन

बिआरटीनेपाल २०८० चैत १४ गते ७:४३ मा प्रकाशित

औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रामक प्रचार गरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।

अहिलेसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताउनुभयो । अनलाइन फार्मेसीका नाममा औषधिको भ्रामक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उहाँले बताउनुभयो ।

औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रामक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । ‘सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ,’ महानिर्देशक ढकालले भन्नुभयो ।

अनलाइन फार्मेसीबाट बिक्री वितरण गरेका औषधिको सुरक्षितता, गुणस्तरीयता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैँ जिम्मेवार हुनुपर्ने र अनलाइन फार्मेसीबाट औषधि खरिद गरी सेवन नगर्न/नगराउन सबैमा विभागले अनुरोध गरेको छ । अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू