अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

अतिप्रशोधित खानेकुराले माेटाेपना बढाउनेदेखि क्यान्सर, मधुमेहलगायतका राेग निम्त्याउँदै

बिआरटीनेपाल २०८० चैत १९ गते ६:२९ मा प्रकाशित

बजारमा पाइने अतिप्रशोधित तयारी खानेकुराले स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । विभिन्न रङ्ग तथा रसायन मिसाएर प्याकेट बनाइएका अतिप्रशोधित तयारी खानेकुराले मोटोपना बढाउनेदेखि क्यान्सर, उच्च रक्तचाप, मधुमेह लगायतका विभिन्न रोग निम्त्याउने विज्ञहरूले बताएका छन् । विश्वमा नै ३० वटाभन्दा बढी स्वास्थ्य समस्या यस्ता खानेकुराका कारण निम्तिएको अध्ययनहरूले देखाएका छन् ।

नेपालको सन्दर्भमा पनि अतिप्रशोधित खानेकुराको खपत बढिरहेको पोषणविद् कला नेपालले बताउनुभयो । उहाँका अनुसार यस्ता तयारी खानेकुरा खाने बानी परेकाहरूले तरकारी, भात, रोटी, दालजस्ता पोषणयुक्त खानेकुरा खान त्यति मन गरेको पाइँदैन । जसले गर्दा विभिन्न किसिमका भिटामिनकाे कमी भएर शरीरमा विभिन्न रोग लाग्ने, थकान हुने तथा मानसिक समस्यासमेत बढ्न थालेकाे छ ।

अतिप्रशोधित तथा तयारी खानाले विशेषगरी बालबालिकालाई शारीरिक र मानसिक दुवैरूपमा कमजोर बनाउने गरेको पाइएको पोषणविद् कला नेपालले उज्यालोलाई जानकारी दिनुभयो । प्याकेटमा राखेका खानेकुराको स्वाद बढाउन र सधैँ ताजा जस्तै बनाउन विभिन्न किसिममा रङ्ग र रसायन प्रयोग गरेको पाइन्छ ।

मानिसलाई लत बसाउन र तलतल लगाउन मद्दत गर्ने रसायन पनि यस्ता खानेकुरामा मिसाउने गरेको विभिन्न समयमा हुने अनुगमनका क्रममा भेटिएको छ । त्यसैले यस्ता खानेकुराको प्रयोग कम गर्नुपर्ने पोषणविद् कला नेपालको सुझाव छ । उहाँले यसबारेमा नागरिक स्तरमा सचेतना बढाउन राज्यस्तरबाटै विभिन्न कार्यक्रम ल्याएर लागू गर्न ढिला भइसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू