अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

‘सगरमाथामा ट्राफिक जामका कारण कसैको मृत्यु भएको छैन’– छानबिन समिति

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:२९ मा प्रकाशित

सगरमाथामा ट्राफिक जामका कारण कसैको मृत्यु नभएको सरकारले फेरि प्रष्ट गरेको छ । सरकारद्वारा गठित छानबिन समितिले सगरमाथामा एकैपटक धेरै जनालाई पठाउँदा ट्राफिक जामका कारण दुघर्टना भएको भन्ने विषय आधारहीन भएको जनाएको हो ।

यो सिजनमा सगरमाथा आरोहणका क्रममा १५ जनाको मृत्यु भएको थियो । अरु दुई जना अझै बेपत्ता छन् ।धेरै आरोही एकैपटक सगरमाथा उक्लन खोज्दा जामका कारण केही आरोहीको मृत्यु भएको खबर अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यममा आएपछि छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा जेठ २५ मा समिति बनाएको थियो ।

टोलीले बुधबार मन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाउँदै संयोजक उपाध्यायले सगरमाथामा जाम नभएको तर लाम भने लागेको बताउनुभयो । त्यसैले आरोही धेरै हुँदा दुघर्टना भएको भन्ने कुरा समितिको अध्ययनले नदेखाउने उहाको भनाई थियो ।

सन २०१९ को वसन्त ऋतुमा सगरमाथा हिमचुलीका लागि ४४ दलमार्फत ३ सय ८१ जना आरोही र ६ सय ४२ जना आरोही दलका सहयोगीलाई अनुमति दिइएकोमा २ सय ८० आरोही र ३ सय ६४ जना सहयोगीले सफल आरोहण गरेको पनि प्रतिवेदनमा उल्लेख छ । सगरमाथामै ८ जनाको मृत्यु भएको र १ जना हराइरहेको अध्ययन टोलीले भनाइ छ । यसको कारण आरोहणका लागि वसन्त ऋतु खास सहज र अनुकूल नरहेको उल्लेख गरेको छ । फानी आँधीको कारण आरोहण प्रभावित भएको जनाइएको छ ।

अध्ययन टोलीले मे १७ देखि २० सम्म चार दिन सगरमाथाको मौसम प्रतिकूल रहेको जनाएको छ । पटक–पटक मौसम प्रतिकुल हुँदा रोकिएका आरोही मे २१ र २२ मा एकैपटक सगरमाथातर्फ जाँदा बाटोमा लाम लागेको टोलीको भनाइ छ । मे २२ गते अहिलेसम्मकै धेरै २ सय २३ जनाले सगरमाथा आरोहरण गरेको प्रतिवेदनमा जनाइएको छ । मे २२ मा सगरमाथा चुचुरोमा २२३ जनाले सफल आरोहण गरेको तर एक जनाको मृत्यु भएको अभिलेख पर्यटन विभागमा रहेको भन्दै ट्राफिक जामका कारण मृत्यु भएको भन्ने समाचार गलत रहेको टोलीको निष्कर्ष छ ।

खराब मौसमले सगरमाथाको बीचमा पुगेर पर्खँदा हाइ अल्टिच्युड सिकनेसले मे २३ मा ३ जना आरोही र मे २४ र २५ मा अरु एक÷एक जनाको मृत्यु भएको अभिलेखबाट देखिएको समितिले जनाएको छ । यसैगरी समितिले आगामी दिनमा सम्पर्क अधिकृत खटाउँदा व्यक्तिगत नभई टीम पठाउन सिफारिस गरेको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री योगेश भट्टराईले सगरमाथासहित सबै हिमाल सुरक्षित रहेको र ढुक्क भएर आरोहणमा आउन आग्रह गर्नुभयो । समितिले दिएका सुझाव कडाइका साथ लागू गर्ने मन्त्री भट्टराईले प्रतिवद्धता जनाउनुभयो । सूचना आधार शिविर नपुगेका सम्पर्क अधिकृतलाई आगामी दिनमा सम्पर्क अधिकृत बन्न अयोग्य हुने कारवाही गरिने पनि उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू