अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

महिला विश्वकप छनोट एसिया क्षेत्रको तेस्रो खेलमा यूएईविरुद्ध नेपाल बिजयी

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:५० मा प्रकाशित

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रको तेस्रो खेलमा यूएईलाई विकेटले पराजित गरेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको सामान्य लक्ष्य नेपालले सजिलै भेट्टायो । नेपालको जारी प्रतियोगितामा यो दोस्रो जित हो ।

कप्तान रुवीना क्षेत्रीले नटआउट १८ र ओपनर काजल श्रेष्ठले १५ रन जोडेपछि नेपालले सहज जित हाँसिल गरेको हो ।  त्यसअघि नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा टस जितेर ब्याटिङ रोजेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रन जोड्न सक्यो । मध्यक्रममा चमानी सेनेविरत्नाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेरी थापाले समग्रमा ३.३ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिनुभयो । नेपालको लागि सिता रानामगरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिनुभयो । सोनु खड्का र कविता कुँवरको नाममा पनि २/२ विकेट रह्यो ।

नेपालले पहिलो खेलमा मलेसियालाई पराजित गरेपनि दोस्रो खेलमा थाईल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको थियो । विश्वकप छनोटको दोस्रो चरणमा पुग्न नेपालले अन्य खेलको नतिजा पनि कुर्नुपर्ने छ । प्रतियोगिताको शीर्ष टोली मात्र अर्को चरणमा पुग्नेछ । प्रतियोगिताको चौथो खेलमा नेपालले आइतबार हङकङसँग खेल्नेछ । यसैगरी पाँचौ खेल सोमबार चीनसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले बुधवार कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू