अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बिआरटीनेपाल २०७५ असोज ९ गते १२:०२ मा प्रकाशित

बिमा व्यवसायको विविधिकरण गर्न अर्थमन्त्री डा.खतिवडाको आग्रह

काठमाडौँ, वित्तीय सुदृढिकरण: विपत् जोखिम वित्तीय व्यवस्थापन र बिमा’ भन्ने नाराका साथ बिमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा मंगलबारबाट सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बिमा व्यवसायमा जोखिम विविधिकरण गर्न आग्रह गरेका छन् । 

“कुनै पनि एउटा क्षेत्रमा मात्र व्यवसाय केन्द्रित हुँदा जोखिम हुन्छ” उनले भने, “त्यसैले बिमा व्यवसायको सकेसम्म विविधिकरण गर्नुहोस् ।” नेपालमा निर्जीवन बिमा कम्पनीको व्यवसायको ५० प्रतिशत मोटर बिमामा मात्र केन्द्रित भएको भन्दै उनले यसलाई उद्योग, घर, हाउजिङ, कृषिलगायतका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने बताए ।

बिमा कम्पनीहरूको सेवा परम्परागत भएको र यसबाट सर्वसाधारणहरूलाई बिमा गर्न लामो समय लाग्ने र झन्झटिलो भएको भन्दै यसलाई सच्याउन अर्थमन्त्री खतिवडाले आग्रह गरे । “प्रविधिको प्रयोग गरेर बिमा गर्न र दाबी भुक्तानी लिने प्रक्रियालाई सरलिकृत गर्नुपर्छ” उलने भने, “यसबाट मात्र बिमा क्षेत्रमा सर्वसाधारणलाई आकर्षित गर्न सकिन्छ”

अर्थमन्त्री खतिवडाले विकासोन्मुख राष्ट्रहरूको बिमा सम्बन्धी समस्याहरू एकै प्रकृतिको रहेको भन्दै सम्मेलनको निष्कर्ष महत्त्वपूर्ण हुने बताए ।
बिमा समिति र नेपाल बिमक सङ्घको संयुक्त आयोजनामा विकासशील राष्ट्रहरूको बिमा कम्पनी र पुर्नसबिमा कम्पनीहरूको सङ्गठन (एआइआरडिसी) को २१ औँ सम्मेलनमा बोल्दै सङ्गठनका अध्यक्ष यासिर अल्वाहर्नले विकासकोन्मुख देशहरूमा बिमा नियामक र कम्पनीहरूको समान समस्या रहेको र यसलाई साझा रूपमा समाधान गर्नका लागि सङ्गठित भएको बताए । विकासोन्मुख देशमा मानव सिर्जित तथा प्राकृतिक विपत्ति पछिको जोखिम उत्तिकै रहेको र विपत्ति पछिको क्षतिमा बिमाको जोखिमलाई न्यूनिकरण गर्ने विषयमा एक अर्काको अनुभव प्रभावकारी हुने बताए ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले प्राकृतिक विपत्ति पछिको बिमा क्षति न्यूनकरणका लागि सम्मेलनमा महत्त्वपूर्ण छलफल हुने बताए ।
नेपाल बिमक सङ्घका अध्यक्ष दीप प्रकाश पाण्डेले विकासशील मूलकहरूमा बिमा व्यवसायको वृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

विपत् जोखिम र वित्तीय व्यवस्थापन
विपत् जोखिम र वित्तीय व्यवस्थापनका लागी बिमा उपयोगी हुने विभिन्न मुलुकका बिमा विज्ञहरूले बताएका छन् । सम्मेलनको पहिलो सत्रमा भएको ‘ विपत् जोखिम र वित्तीय व्यवस्थापन’ विषयमा छलफल गर्दे बहराईन, तान्जेनिय, श्रीलङ्का र नेपालका बिमा विज्ञले यस्तो धारणा राखेका हुन् ।

छलफलमा बिमा समितिका सल्लाहकार भोजराज शर्माले नेपालमा आतंकबाद बिमाका लागी निर्माण गरिएको आकस्मिक बिमा कोष अत्यन्तै सफल भएको बताए । द्धन्दको समयमा विदेशी पुर्न बिमा कम्पनीले पुर्न बिमा गर्न नमाने पछि सरकारको सहयोगमा कम्पनीहरूले आकस्मिक बिमा कोषको स्थापना गरेको उनले बताए । जुन अहिले पुर्न बिमा कम्पनीमा परिणत भएको छ । त्यसै गरी नेपालमा बिमाको पहुँच बढाउन सरकारले तेस्रो पक्ष बिमा अनिवार्य गरेको छ भने कृषि र लघुबिमालाई प्राथमिकतामा राखिएको छ । जसमा अनुदानको समेत व्यवस्था गरिएको उनले बताए ।

छलफलमा श्रीलङ्का जगतआलविसले श्रीलङ्कामा लघुबिमाको सुरुवात गरे पनि नेपालको जस्तो सफल नभएको बताए । ‘कतिपय अवस्थामा यो अलि महँगो पनि हुन्छ । वितरण प्रणाली अत्यन्तै कठिन छ,’ उनले भने । यद्यपि श्रीलङ्कामा मोबाइल बिमा सफल भएको उनले बताए । साथै तान्जेनियका उल्लरले बिमा व्यवसायलाई सफल बनाउन सरकारको सहयोगको आवश्यकता पर्ने बताए । साथै कम्पनीहरूले क्याट फण्डको स्थापना पनि गर्नुपर्ने उनले बताए ।

जोखिम व्यवस्थापनमा स्वदेशी पुर्नबिमाको भूमिका
सम्मेलनको दोस्रो चरणमा ‘जोखिम व्यवस्थापनमा स्वदेशी पुर्नबिमाको भूमिका’ विषयमा छलफल भएको थियो । उक्त छलफलमा नेपाल पुर्न बिमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईले र नेशनल पुर्नबीमा कम्पनी फिलिपिन्सका अध्यक्ष अगस्टो हिडाल्डोले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यत्रप प्रस्तुत गर्दै नेपाल पुर्न बिमा कम्पनीका अध्यक्ष गुरागाईले नेपालका बिमा कम्पनीहरूको पुँजी वृद्धि भएसँगै खुद धारण गर्ने सक्ने क्षमताको पनि बढेको बताए । त्यस्तै, नेपालमा नै पुर्न बिमा कम्पनी स्थापना भई सकेको परिप्रेक्ष्यमा पुर्न बिमा बापत विदेशी रकम रोकिने क्रम बढेको उनले बताए । ‘त्यति मात्रै हामीले भारत लगायतका मुलुकबाट पुर्न बिमा व्यवसाय पनि भित्राएका छौ,’ उनले भने । यसले नेपालमा बिमा सम्बन्धी ज्ञान, पूर्वाधार, प्रविधि, लगानी, रोजगार विकासमा टेवा पुगेको उनले बताए ।

त्यस्तै, कार्यपत्र प्रस्तुत गर्दै नेशनल पुर्नबीमा कम्पनी फिलिपिन्सका अध्यक्ष हिडाल्डोले फिलिपिन्समा विश्व विकास बैङ्कमा सहयोगमा प्राकृतिक जोखिम बहन गर्नका लागी छुट्टै कोष खडा भएको बताए । साथै यस सम्मेलनले विकासशील राष्ट्रहरूको जोखिम न्यूनिकरणका लागी क्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । जलवायु परिवर्तन र विपद जोखिमलाई बिमा मार्फत कभरेज गर्न विश्व व्यायापी रूपमै सार्वजनिक, निजी साझेदारी मोडेल अनुसार अगाडी बढ्नु पर्ने सुझाव दिए । यसको लागी सरकारी निकाय बिमा कम्पनी तथा निजी स्तरबाटै सहयोग हुनुपर्ने उनको धारणा थियो ।

एआईआरडिसीको अध्यक्षमा विजय बहादुर शाह चयन
विकासशील राष्ट्रका बिमा तथा पुर्न बिमा कम्पनीहरूको सङ्गठन (एआईआरडिसी) को अध्यक्षमा नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह चयन भएका छन् । सङ्गठनको मङ्गलवार नेपालमा सम्पन्न भएको वार्षिक साधारण सभाले उनी सहितको नौ जनाको कार्यसमितिलाई निर्विरोध रूपमा चयन गरेको छ ।

नयाँ समितिको कार्यकाल आगामी दुई वर्षको लागी हुनेछ । साथै सभाले आगामी २२ औ एआईआरडिसी सम्मेलन सन् २०२० केन्यामा हुने समेत निर्णय भएको छ ।
नयाँ कार्य समितिको उपाध्यक्षमा घानाकी एलिजाबेथ बान्स डोग्वे चयन भएकी छिन । महासचिवमा फिलिपिन्सकी हर्मिनला जासिन्टो र सदस्यहरूमा

फिलिपिन्सका इस्टर सी टान, श्रीलंकका डा.जागथ आलविस, बहराईनका यासिर अल्वाहर्र्न, तान्जेनियका विल्सन नाथानिएल डेसान्जो चयन भएका छन् । साथै समितिमा जिम्बाबे र थाईल्याण्डका प्रतिनिधि पनि चयन भएका छन् ।

नेपालमा मङ्गलवार देखि सुरु भएको २१ एआईआरडिसी सम्मेलन ८८ मुलुकका प्रतिनिधि सहित १८ मुलुकका बिमा तथा पुर्न बिमा कम्पनीका ४ सय जनाको सहभागिता रहेको थियो । सम्मेलन बुधवारसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू