अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

कापा, साफा बैठक सम्पन्न

बिआरटीनेपाल २०७५ वैशाख २९ गते १४:२१ मा प्रकाशित

काठमाडौँ, प्यासिफिक एकाउन्टेन्ट्स परिसंघका (कापा) विभिन्न बैठकहरू काठमाण्डौमा सम्पन्न भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान) को आयोजनामा एसियन तथा प्यासिफिक एकाउन्टेन्ट्स परिसंघका (कापा) निर्देशक बैठक, सुशासन र अडीट कमिटी बैठक, प्राविधिक लेखा कार्यदल बैठक र सार्वजनिक क्षेत्र वित्तीय व्यवस्थापन समितिको बैठक काठमाडौँ स्थित होटेल याक एण्ड यतिमा शुक्रवार सम्पन्न भएको हो ।

कापा एसिया र प्यासिफिक क्षेत्रका २३ देशमा रहेका ३२ लेखा व्यवासायी संस्थाहरूको सङ्गठन हो । शनिवार भएको सार्वजनिक वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको एक दीन अघि सम्पन्न कापा मातहतका विभिन्न बैठकहरूमा परिसंघका निर्देशकहरू र समितिका सदस्यहरूको सहभागिता रहेको थियो । त्यसै गरी कापाको कार्यसमिति बैठक परिसंघका सभापति मनोज फडनिसको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आइक्यानका पूर्व अध्यक्ष तथा कापाका निर्देशक प्रकाश लम्सालले बैठकले एसिया प्यासिफिक क्षेत्रका लेखा व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको जानकारी दिनु भयो । त्यसै गरी दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासङ्घ (साफा) को ५२ औ कार्यसमिति बैठक पनि शुक्रवार नै सम्पन्न भएको छ । नौ महिना पछि आयोजित उक्त बैठकमा सहभागीहरूलाई आइक्यानका अध्यक्ष तथा सिए प्रकाश जङ्ग थापाले स्वागत गर्नु भएको थियो । विश्व बेंक र न्युजिल्याण्ड र अस्ट्रेलियाको चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका समेत प्रतिनिधि सहभागी उक्त बैठकको अध्यक्षता महासङ्घका सभापति सुबोध कुमार कर्णले गर्नु भएको थियो ।

बैठकले लेखा व्यवसाय र साफाका सदस्य संस्थामा देखिएका पछिल्ला घटनाक्रम, साफा महिला सशक्तिकरण समितिको गठन र प्रविधिको विकाससँगै अडिटको गुणस्तर सुधारमा साफाको भूमिकाको बारेमा छलफल भएको थियो ।

यसैबिच कापा र साफाको छुट्टै संयुक्त बैठक पनि शुक्रवार सम्पन्न भएको छ । दुई संस्थाले लेखा व्यवसायका क्षेत्रमा गरी रहेका छुट्टाछुट्टै प्रयासलाई आपसी साझेदारीका विषयमा सँगै काम गर्न रणनीति तय गर्न बैठक केन्द्रित रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू