अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ६:०८ मा प्रकाशित

विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । मंगलबार राति भएको पहिलो प्रिक्वाटर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो पटक क्वाटर फाइनलमा प्रवेश गरेको हो । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरेका थिए । बदर बेनोनको पेनाल्टी प्रहार भने स्पेनका गोलकिपर युनाई सिमोनले रोकेका हुन् । स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भएका हन् । सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए । मोरक्कोले अब क्वाटर फाइनलमा पोर्चुगलको सामना गर्नेछ ।

त्यस्तै मंगलबार राति भएको दोस्रो खेलमा स्वीजरल्याण्डलाई हराउँदै पोर्चुगल क्वाटर फाइनलमा प्रवेश गरेको छ। लुसिल स्टेडियममा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीजरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो । पोर्चुगललाई जित दिलाउने क्रममा गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए । पेपे, राफायल गुइरेरो र राफायल लियोले १-१ गोल गरेका थिए । स्वीजरल्याण्डका मानुएल एकान्जीले एक गोल फर्काएका हुन् । पोर्चुगलले अब क्वाटर फाइनलमा मोरोक्कोसँग खेल्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू