अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

दर्शकको रोजाईले थिएटर मलमा फेरि पनि ‘मान भर्सेस मती’

बिआरटीनेपाल २०७३ फागुन १७ गते ५:२४ मा प्रकाशित

सुन्धरास्थित काठमाडौं मलका रहेको नाटकघर थियटर मलमा फागुन १३ गतेदेखि केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटक ’मान भर्सेस मती’ मञ्चन भैरहेको छ । अघिल्लो वर्ष पनि एक महिना मञ्चन हुँदा निकै मन पराइएको नाटकलाई पुनः मञ्चन गरिएको हो ।

यसपटक कलाकारद्वय आकाश मगर र प्रेमवर्षा खड्काले ’मान भर्सेस मती’ मा रहेको केन्द्रीय द्वन्द्वलाई अभिनयमा सजीव उतारेका छन् । उनीहरु नाटकमा श्रीमान श्रीमतीको भूमिकामा छन् र उनीहरुबीचको द्वन्द्वलाई नै प्रतीकात्मक रुपमा ‘मान भर्सेस मती’ नाम दिइएको हो । अघिल्लो वर्ष श्रीमानको भूमिकामा अर्का उम्दा अभिनेता अभय बरालले अभिनय गरेका थिए ।

नाटकको विषयबस्तु नयाँ छैन । हरेक दिन हामीले घर समाजमा दख्ने घटना, पात्र र प्रवृत्ति नै नाटकमा देख्न सकिन्छ । पारिवारिक द्वन्द्व नाटकको मूल विषय हो । सम्बन्ध विश्वासमा चलेको हुन्छ । जब विश्वासमा अविश्वासको भाइरस छिर्छ तब सम्बन्ध मक्किन थाल्छ । परिवार चल्न पनि विश्वासको खाँचो पर्छ । शंकाले लंका त जलाउँछ भने सुखी परिवारलाई जलाएर खरानी बनाउन बेर लाग्दैन । नाटक ‘मान भर्सेस मती’ ले यही विश्वास र अविश्वासबीच फेरबदल हुने पारिवारिक सम्बन्धको रुपरेखा कोर्ने प्रयास गरेको छ ।

मध्यम वर्गीय सामान्य परिवारको अति सामान्य कथामा नाटक बुनिएको छ । निश्चित समय र सोच बोकेका पात्रको सामान्य व्यवहारलाई नै दृश्यात्मक बनाइएको छ । नाटकमा एक श्रीमती छिन्, उनका श्रीमान् छन् । परिवारिक बोझले थिचिएको श्रीमान जीवन निर्वाहका लागि फिल्म क्षेत्रसँग सम्बन्धित कम्पनीमा काम गर्छ । जब ऊ कामबाट थाकेर घर फर्किन्छ, यसकी श्रीमती सिरियल हेरेर बसिरहेकी हुन्छे।

उसलाई लाग्छ श्रीमतीले बेवास्ता गर्दैछे । यति भएपछि के निहुँ चाहियो र ? उनीहरुबीच भनाभन हुन्छ । हुँदा हुँदा लोग्ने स्वास्नीलाई अर्को केटासँग लठारिएको देख्न थाल्छ, स्वास्नी लोग्नेलाई अर्की महिलासँग सल्किएको देख्न थाल्छे । ’भाइ फुटे गवार लुटे’ भने झैँ उनीहरुको झगडाको फाइदा बाहिरकाले उठाउन खोज्छन् । तराईबाट कलाकार बन्ने सपना बोकेर आएको रजनीरुपेश र भाइ त्यस्ता पात्र हुन् ।

पति पत्नीको झगडा परालको आगो भन्ने त उखान नै छ । दाउरापनी नठोसी बल्दैन । ‘मान भर्सेस मती’ का पति पत्नी बीच पनि ठाकठूक चलिरहन्छ । आफैंले घर बोलाएका संगीसँग फरासिलो बन्यो अथवा संगीहरुले भिनाजु त कस्तो ह्यान्डसम भन्दा शंकालु बन्ने पत्नि अनि टाढाको नाता पर्ने भाईका बारेमा गुणगान गाउँदा आफुलाई कमजोर ठान्ने पति । पतिको रेखदेख, हेरविचार र माया भन्दा हिन्दी सिरियलका पात्रप्रति बढि माया दर्शाउने पत्नि, सवारी जाममा परेर शिथिल हुँदै ढिलोगरी घर आईपुगेको पतिलाई स्त्री गमनको आरोप लगाउँदै रुवाबासी गर्ने पत्नि र घरकै चौघेरामा सीमित गर्ने तर पत्निका इच्छा, चाहना बुझ्न नसक्ने पतिबीचको टसललाई जीवन्त बनाएको छ नाटकले ।

नाटकमा जोडिएर आउने सबल विषय हो मिडियाको प्रभाव । दिनभर सिरियल हेरेर बस्ने श्रीमती श्रीमानलाई पनि सिरियलमा केटी खेलाउने पुरुष पात्रसँग तुलना गर्न पुग्छे, शंकालु बन्छे । अन्तिममा जब उनीहरुले आफूरुबीचको झगडा असमझदारीका कारण भएको हो भन्ने थाहा पाउछन, तब समस्या सुल्झिन्छ । तर ’लोग्नेस्वास्नीको झगडा परालको आगो’ भने झैँ त्यो सधैँलाई भने रोकिन्न भलै मान भर्सेस मतीमा एउटा सहमति जुटेको किन नहोस् ।

एउटै परिवारभित्र फरक फरक उमेर, भोगाइ र चाहना बोकेका पात्रको आवेग र विवेकबीचको द्वन्द्वलाई मञ्चमा उतार्न लेखक तथा निर्देशकले जुन परिकल्पना गरेका छन्, त्यो नाटकको बलियो पक्ष हो। विश्वासमा बाँधिएको सम्बन्धको डोरी सामान्य परिस्थितिको हिर्काइबाटमात्रै पनि चुँडिन सक्छ भन्ने सन्देश नाटकमा छ। श्रीमान श्रीमातीलाई ’रथका दुई पांग्रा’ वा ’एउटा आगो, अर्को पानी’ भन्ने चलन छ तर जब आवेगले विवेकलाई छोप्छ तब रथका पांग्राहरु फुस्किन्छन्, आगो र पानीका विश्वास टुट्छन् भन्ने कटु यथार्थ नाटकमा लुकेको छ। बाह्य समाज र सम्बन्धलाई सुनेर एकअर्कालाई शंका गर्ने प्रवृत्तिप्रति पनि नाटकमा व्यंग्य गरिएको छ ।

भकुण्डोलाई बच्चाको रुपमा अभिनय गराएर निर्देशकले बाबुआमाको खटपट र झगडामा कसरी छोराछोरी भकुण्डो बन्छन् भन्ने देखाउन खोजेका छन् । निर्देशकले यसलाई सुन्दर ढंगले प्रयोग गरेका छन् । नाटकका सम्वाद र कलाकारको हाउभाउले दर्शकलाई नाटकको पूरै अवधि हसाउनेछ ।

दैनिक जिवनको ब्यस्यता, भारतीय टेलिसिरियल सस्कृतिले मानसिक रुपमा पारेको प्रभावलाई मुख्य विन्दुमा राखि तयार गरिएको नाटक ‘मान भर्सेस मती’ ले अधिकांश पति पत्निलाई अपनत्व बोध गराउन सक्नेछ । विषयबस्तु गम्भीर र मार्मिक हुँदाहुँदै पनि निर्देशकले प्रस्तुतीकरणमा हास्यरस भरिदिएर चाख लाग्दो पारेका छन् ।

नाटकमा अकाश मगर, प्रेमवर्ष खड्काका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोसन सुवेदीले अभिनय गरेका छन् । केदार श्रेष्ठको मञ्च परिकल्पना तथा घनश्याम श्रेष्ठको प्रकाश परिकल्पनाले नाटकलाई थप चुस्त बनाएको छ ।

बुधबारबाहेक हरेक दिन ठिक ५ः३० मा सुरु हुने नाटक आउँदो चैत ५ गतेसम्म चल्ने छ । शनिबार भने दिउँसो १ः३० बजेको पनि शो राखिएको थिएटर मलले जनाएको छ ।

 

 

(तस्वीर: थिएटर मलका लागि प्रशुन सिन्धुलीय)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू