अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

सम्झनाका तरेलीमा तारादेवी र अरुणा लामा

बिआरटीनेपाल २०७३ माघ २९ गते १०:३१ मा प्रकाशित

दिवँगत गायीका द्वय तारादेवी श्रेष्ठ र अरुणा लामाका गीतहरु गाएर तन्नेरी पुस्ताले शुक्रबार दिउँसो यी दुई कलाकारलाई सम्झिए ।  सांस्कृतिक संस्थान नाचघरले दिवँगत गायिका तारादेवी र अरुणा लामाको स्मृतिमा साँगीतिक कार्यक्रम ‘सम्झनाका तरेलीमा तारादेबी र अरुणा लामा’ आयोजना गरेको हो । संस्थानकै कलाकारहरुद्धारा कार्यक्रममा यी दुई अग्रज कलाकारहरुको गीत प्रस्तुत गरिएको हो ।

संस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रमका सहभागी अतिथिलाई स्वागत गर्दै गायिका तारादेबी र अरुणा लामाको बारेमा चर्चा गरे । अग्रज कलाकारहरुको योगदान बारे नयाँ पुस्तालाई जानकारी गराउन संस्थानले दिवँगत कलाकारहरुको स्मृतिमा कार्यक्रम गर्दै आएको जानकारी गराए ।

कलाकार सपना लामाले तारादेबीको गीत तिमीलाई हाँसेर…सुनाउँदै सो सांगीतिक कार्यक्रमको सुरु गरिन् । यसपछि संस्थानकै अग्रज कलाकार लोचन भट्टराई अरुणा लामाको गीत लिएर मञ्चमा प्रस्तुत भईन् । उनले सँधै जस्तो फेरी…गीत सुनाईन् । अर्का कलाकार रुपक चौधरीले पनि अरुणा लामाको गीत सुनाए । उनले अरुणाको चर्चित गीत भेटिनु छुटिनु…गाएका थिए ।

बाँकी कलाकारले तारादेबीका गीत सुनाए । कार्यक्रममा प्रस्तुत ११ गीत मध्य ९ ओटा गीत तारादेबीको गाईएको थियो । जस मध्य भिमकला गुरुङले साँघुरी वारिनी हो त्यो धारा पानी…, टिका गुरुङले कर्कलो गाभा…, चाँदनी मल्लले कारीपारी दाई कती राम्रो…जस्ता तारादेबीका लोकभाका प्रस्तुत गरे ।

कलाकार विपिन घिमिरेले तिम्रा पाउहरुमा…, शिला बिष्टले निर्दोष मेरा…, राधिका भण्डारीले जताततै खोजे…बोलका गीत सुनाएर तारादेबीको सम्झना गरे । तारादेबी र उदितनारायण झाको युगल स्वरमा रहेको रोमाञ्चाकारी गीत ए मेरी बिजुली…गएर कलाकार रुपक चौधरी र राधिका भण्डारीले कार्यक्रमलाई रोमाञ्चकारी मोडमा समापन गरे ।

सो कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारहरुले प्रत्यक्ष बादबादन प्रस्तुत गरेका थिए । गिटारमा लोकराज राई, आकाश गोर्खाली, मादलमा पञ्चनारायण महर्जन, तवलामा भरत लाखे, बाँसुरीमा कृष्ण गुरुङ, मदन जर्गा, ढोलकमा भागिरथ सुस्लिङ, हार्मोनियममा रुपक चौधरी र किबोर्डमा रोहित सुवेदी थिए ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेले सो कार्यक्रम सुरु हुनु भन्दा अघि दिवँगत कवि शीबराज सुवेदीको कवितासँग्रह ‘जिन्दगी’ बिमोचन गरे । सुवेदीका कविताहरु ससक्त र छन्दबद्ध भएको राष्ट्रकवि घिमिरेले बताए । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका संस्कृति विभाग प्रमुख भरतमणि सुवेदीले दिवँगत कवि शिबराज र उनको कविता लेखनबारे कार्यक्रममा चर्चा गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू