अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन: अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ८:१८ मा प्रकाशित

काठमाडौँ, मंसीर १५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताउनु भएको छ ।

ललितपुरको गोदावरी नगरपालिकामा वज्रवाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको शिलान्यास गरेपछि बोल्दै अर्थमन्त्री पौडेलले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिनुभयो ।

उहाँले स्वस्थसँग बाँच्न पाउनु पर्ने संविधानको मौलिक हक अनुसार स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रूपमा स्थानीय तहहरूमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले १८ करोड रुपैयाँको सीमामा रहेर १५ शैयाको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय दुई वर्ष अघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले अस्पताल निर्माण गर्दा लागत, गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई विशेष ध्यान आग्रह गर्नु भयो ।

अर्थ मन्त्रालयले एक हप्ता अघि ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षिय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएको थियो ।

अर्थ मन्त्रालयले स्थानीय तहहरूमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री पौडेलले सात वटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० शैयाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था गरिएको जानकारी दिनुभयो । ‘अस्पताल निर्माणको कार्य अघि बढ्दै जाँदा थप बजेटको निकासा हुन्छ । बजेटको अभाव हुँदैन’- अर्थमन्त्री पौडेलको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू