अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

आगामी ३ दिन हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ जेठ १४ गते ६:५५ मा प्रकाशित

प्रिमनसुनको प्रभावले आगामी तीन दिन देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपरान्ह तथा साँझपख लगातर प्रभावित भइरहने बताईएको छ । आगामी तीन दिन अपरान्ह तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्हरु बताएका छन् । सामान्यतया नेपालमा जुन १० देखि मनसुन सुरु हुने गर्छ । मुलुकमा मनसुन भित्रन अझै १३ दिन बाँकी रहेको छ । हाल देशको पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू