अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

बुबाले देखाएको मार्गमा अगाडि बढ्छु : सुहाङ नेम्वाङ

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ६:४० मा प्रकाशित

इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेम्वाङले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताउनुभएको हो । नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्यांकन हुनेगरी काम गर्ने बताउनुभयो । त्यस अवसरमा उहाँले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गर्नुभएको थियो ।

नवनिर्वाचित सांसद नेम्वाङले भन्नुभयो, ‘म एकदमै हर्षित पनि छु । अलिअलि भावुक पनि भएको छ । यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ । यसमा म तपाईहरु समक्ष उभिदाखेरी म के बाँचा गर्न चाहन्छु । धेरै बोल्न चाहन्न । म के बाचा गर्न चाहन्छु भने तपाईहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मत, सुरक्षित राख्नुभएको एक एक मतको मूल्यांकन हुने गरेर, तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु । मैले बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिवद्ध हिसावले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु । तपाईहरुलाई कहिल्यै पनि संकोच हुन नदिने छैन । तपाईहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’

नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गर्नुभएको थियो । संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उहाँका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मदवार बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू